
काठमाडौं, २० कात्तिक । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा ३ दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आएका भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणे बिहीबार जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।
बिहीबार बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए ।
उक्त अवसरमा उनले यसभन्दा अघि भ्रमणमा आएका अन्य विशिष्ट सैनिक पाहुनाहरु सरह जङ्गी अड्डा प्राङ्गणमा ओखरको बिरुवा रोपेका थिए ।
त्यसपछि प्रधान सेनापति पूर्णचन्द्र थापा र जनरल नरवणे बीच शिष्टाचार भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाहरुका बारेमा प्रस्तुतिकरण गरीएको थियो ।
भेटघाटपछि जङ्गी अड्डामै आयोजित अर्को कार्यक्रममा, जनरल नरवणेले नेपाली सेनालाई सहयोग स्वरुप दुर्इ वटा फिल्ड अस्पताल स्थापनाका लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरहरु समेत हस्तान्तरण गरेका छन् ।
नेपाली सेनाका तर्फबाट महारथी थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडीकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तरण गरेको नेपाली सेनाले बताएको छ ।
आज साँझ जनरल नरवणेलाई नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
हेर्नुहोस् तस्वीरहरु–
















प्रतिक्रिया