
काठमाडौं १९ कात्तिक । कोरोना महामारी भइरहेका बेला नेपालमा पहिलोपटक कोरोनाविरुद्धको फाभिर २०० नामको औषधिको क्लिनिकल परीक्षण शुरु भएको छ ।
कोरोनाको औषधि देउराली जनता फर्मास्युटिकल्सले उत्पादन गरेर क्लिनिकल परीक्षणका लागि उपलब्ध गराएको हो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले फाभिर २०० औषधि कोरोना बिरामीमा क्लिनिकल परीक्षण शुरु भएको बताए ।
कोरोना विरुद्ध प्रयोग हुने यो औषधि पहिलो पटक नेपालमै उत्पादन गरेर क्लिनिकल परीक्षणका लागि पठाएको औषधि निर्माता देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए ।
उद्योगले मूल केमिकल आयात गरेर नेपालमै विकास गरी फाभिर २०० ट्याबलेट उत्पादन गरेको छ ।
देउराली जनता फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशक शर्माका अनुसार कम्पनीले स्वास्थ्य अनुसन्धान परिषद् र औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भए अनुसार यो औषधिको क्लिनिकल अनुसन्धानका लागि आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ ।
बिरामीलाई पूरै निको बनाउन अधिकतम १४ दिनको लागि १२२ ट्याबलेटको डोज आवश्यक पर्ने र संक्रमणको सुरुदेखि पत्ता लागे थोरै दिनमा समेत रोग निको हुने विश्व मान्यताप्राप्त अनुसन्धानहरूको निष्कर्ष रहेको शर्माले बताए । १४ दिनको डोजका लागि १२ हजार रुपियाँ पर्ने उनले बताए ।











प्रतिक्रिया