१ कार्तिक २०८३, आइतबार

नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य रोक्नु अमानवीयताको पराकाष्ठा हो : साझा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । साझा पार्टीले नागरिक स्तरबाट हुँदै आएको परोपकारी कार्य रोक्नु अमानवीयताको पराकाष्ठा भएको बताएको छ ।

रत्नपार्कमा निःशुल्क खाना खुवाउने कार्यक्रम रोक्न काठमाडौं महानगरपालिकाले निर्देशन जारी गरेसँगै मंगलबार साझा पार्टी एक विज्ञप्ति जारी गरी उक्त कार्यको घोर भत्र्सना समेत गरेको छ ।

‘केही परोपकारी समूहहरूले महिनौंदेखि काठमाडौंको खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्नेमा नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको सो पार्टीको ठहर छ ।

सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्’, विज्ञप्तिमा लेखिएको छ, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले ।’

साझा पार्टीको उक्त कदम महिनौंदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र भएको पनि जनाएको छ ।

साझाले भनेको छ, ‘साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौं नेपाली दाजुभाइ, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गर्दछ ।’

सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरी कोरोना कहर कायम रहुञ्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को कि ‘माम’को व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।