१ कार्तिक २०८३, आइतबार

कोरोना परीक्षण निःशुल्कबारे सरकारले दियो पुनरावलोकन निवेदन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । सरकारले कोरोना संक्रमण परीक्षण निःशुल्क गर्न भनी दिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन निवेदन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका तर्फबाट दिइएको निवेदनमा कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क लिनु संविधान र कानुनसम्मत रहेको जिकिर गर्दै सो आदेश बदर गर्न माग गरिएको छ ।

‘स्वास्थ्यसम्बन्धी सेवा आफैंमा प्राविधिक सेवा भएकाले दक्ष जनशक्ति तत्कालै परिपूर्ति गर्न सक्ने अवस्था रहँदैन । तसर्थ जोखिम क्षेत्रमा कार्यरत कर्मचारी तथा विपन्न नागरिकलाई राज्यले हालको विषम परिस्थितिमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

ती व्यक्तिको परीक्षण समयमा गरी समयमा नै नतिजा प्राप्त गर्न तथा सरकारी प्रयोगशालामा हुने चाप नियन्त्रण गरी प्रयोगशालाबाट फैलन सक्ने संक्रमणको दरलाई तत्कालै नियन्त्रण गर्नका लागि आरटी पीसीआर परीक्षणको न्यूनतम शुल्क तोकी बढीभन्दा बढी निजी प्रयोगशालालाई आरटी पीसीआर परीक्षणको अनुमति दिन आवश्यक भएकामा सो पक्षलाई सम्मानित अदालतबाट जारी आदेशमा अनदेखा गरिएको छ,’ सरकारको पुनरावलोकन निवेदनमा भनिएको छ ।

सरकारले यसअघि लिँदै आएको शुल्कका विषयमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्च अदालतले निजी र सरकारी सबै प्रयोगशालामा कोरोना भाइरस संक्रमण परीक्षण निःशुल्क गर्न परमादेशको आदेश जारी गरेको थियो । सोही परमादेशको विरोधमा सरकार सर्वाेच्च अदालत पुगेको हो ।

पुनरावलोकनको माग गर्दै सरकारले सर्वोच्च अदालतमा दिएको निवेदनमा सर्वाेच्चले अपरिपक्व ढंगले आदेश जारी गरेको जिकिर गरेको छ ।

उता, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । मन्त्री ढकालविरुद्ध सर्वोच्चको आदेश कार्यान्वयन नगरेको भन्दै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले संयुक्त रूपमा निवेदन दिएका हुन् । राजधानी दैनिकले खबर छापेकाे छ ।