१ कार्तिक २०८३, आइतबार

विद्यमान आर्थिक सङ्कट पार लगाउन महासंघमा दरिलो नेतृत्व आवश्यक : ढकाल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् ।

उपाध्यक्ष ढकालले कोरोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

‘कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भइसकेको छैन त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाएर राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ’, आज सोमबार काठमाडौंमा आफ्नो टीमका पदाधिकारीसहितका उम्मेदवारहरूसँगको अन्तक्र्रियामा उनले भने, ‘त्यसैले हामीले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको छ, महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’

महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरवपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै उनले बताए । ‘महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेमा उनको जोड थियो ।

महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने उनको भनाइ छ । ‘नेतृत्व भनेको संकटको समयको सारथी हो र यस्तै दुःखको बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासंघको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्नुपर्छ’, उनले भने ।

प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उनले आफ्नो टीमका सबैलाई आग्रह गरेका छन् । आफ्नो समूह अबका सबै चुनौतीको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकाले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए ।

‘हाम्रो यो समूह सबै मुलुकको व्यापार व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला÷नगर देखि नीतिगत तहसम्म पहूँच पु¥याउन सक्छ’, उनले अन्तरक्रिया कार्यक्रममा भने ।

उनले कोरोनाका कारण सृजना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफि नहुने बताउँदै त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरू चयन गर्ने उपयुक्त अवसर आएको पनि बताए । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ गर्नसक्ने नेतृत्व चाहिएको बताउँदै उनले आफ्नो समूहले महासंघलाई ठूला उद्यमीहरूको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रूपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने दाबी गरे ।

सो भेलामा ढकाल समूहबाट उम्मेदवारहरू उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघई लगायतको उपस्थिति रहेको थियो ।