
वेलिङटन, १७ कात्तिक । न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छिन् ।
निकै विविधतापूर्ण मानिएको उनको मन्त्रिपरिषद्मा पूर्वअर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी भएको भन्दै खुला रुपमा बताउने गरेका छन् ।
उनलाई अर्थ मन्त्रालयको कार्यभार समेत दिइएको छ । बीस सदस्यीय मन्त्रिपरिषद्मा महिला र माओरी समुदायका व्यक्तिलाई पनि राम्रो स्थान दिइएको छ । माओरी समुदायमा प्रचलित परम्परागत टाटु चिउँडोमा खोपेकी ननैया महुतालाई विदेश मन्त्रीको जिम्मेवारी दिइएको छ ।
गत अक्टोबरमा सम्पन्न आमचुनावमा ठूलो जनमतसहित विजयी भएकी आर्डेनले मन्त्रिपरिषद्लाई बढीभन्दा बढी समावेशी बनाउने प्रयत्न गरेकी छिन् ।
मन्त्रिपरिषद् गठनका बारेमा राजधानी वेलिङटनमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री आर्डेनले न्यूजील्यान्डका लागि आगामी तीन वर्ष निकै चुनौतीपूर्ण रहेको बताइन् । उनले विश्वका धेरै देशलाई समस्यामा पारेको कोभिड–१९ ले न्यूजीन्यान्डलाई पनि असर पार्ने भन्दै चिन्ता व्यक्त गरिन् ।
नयाँ मन्त्रिपरिषदलाई जतिसक्दो समावेशी बनाउने क्रममा आफूले योग्यतालाई पनि विशेष रुपमा ध्यान दिएको उनले स्पष्ट पारिन् । प्रधानमन्त्री आर्डेनको दोस्रो कार्यकाल शुरु हुँदैछ । गत चुनावमा आर्डेनको लेबर पार्टीले ८७ प्रतिशत मतगणना भइसक्दा झण्डै ४९ प्रतिशत मत प्राप्त गरेको थियो । एएनआई















प्रतिक्रिया