१ कार्तिक २०८३, आइतबार

सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । काठमाडौंसहित रौतहट, चितवन, सप्तरी, कैलाली, दाङ र नवलपरासी (पश्चिम)का छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा एनएल ०१ एडी ७१९३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौं बाफल बस्ने धादिङ घर भएकी २२ वर्षीया देवी तामाङकी २ वर्षीया छोरी दिपशिखा तामाङको आइतबार साँझ मृत्यु भएको छ ।

बा. ५६ प ४४५ नम्बरको स्कुटरले देवीलाई ठक्कर दिँदा साथमा बोकेकी छोरी सडकमा खसेपछि सो ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी दिपशिखाको मनमोहन मेमोरियल अस्पताल सितापाइलामा उपचारको क्रममा मृत्यु भएको हो । दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै रौतहटको मौलापुर नगरपालिका–३ शहिद चोकमा बीआर ०५ एसी ६०५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मौलापुर नगरपालिका–३ का कृष्नदन यादवकी ५ वर्षीया छोरी अञ्जुकुमारी यादवको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–९ मिलन चोकमा एनएल ०१ एबी ९२३५ नम्बरको ग्याँस बुलेटमा ना. ४२ प ९७१५ नम्बरको मोटरसाइकल ठोक्किंदा आइतबार दिउँसो मोटरसाइकलमा सवार २४ वर्षीय मनोज सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि सरकारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक राप्ती नगरपालिका–५ का ४८ वर्षीय खडकबहादुर सुनारको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ महुली पुलस्थित सडकमा बा. २१ च ६३९ नम्बरको कारले को. २ ह ३४९८ नम्बरको सिटी रिक्सालाई आइतबार दिउँसो ठक्कर दिँदा रिक्दामा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ७० वर्षीया बद्री मुखिया र ७० वर्षीय दोवारिकालाल दास भन्ने बेचनलाल माझी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि भारदह अस्पताल सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने माझीको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका रिक्सा र कारमा सवारमध्ये ३ जनाको भारदह अस्पताल सप्तरी र अन्य ३ जनाको गोल्डेन अस्पतालमा विराटनगरमा उपचार भइरहेको छ ।

यस्तै कैलालीको मोहन्याल गाउँपालिका–४ बासपानीमा सुदूरपश्चिम प्र. ०१००१ च २६२३ नम्बरको जिप अनियन्त्रित भई करिब ३० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार महोन्याल गाउँपालिका–२ पल्लागडा बस्ने ६० वर्षीय कबिराज भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको सोही अस्पतालमा उपचार भइररहेको र अन्य ५ जनालाई थप उपचारका लागि कोहलपुरतर्फ रिफर गरिएको छ ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–३ स्थित सडकमा ना. ६ ख ६२० नम्बरको ट्रक अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्रक चालक बाँके घर भएका ३५ वर्षीय प्रकाश परियारको घटनास्थालमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सोही ट्रकमा सवार १ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही हुँदै थप उपचारका लागि बुटवल मेडिकल कलेज बुटवल रिफर गरिएको छ ।

त्यस्तै नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका–७ बुलन्दपुरमा लु. ४० प ६११३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री पाल्हीनन्दन गाउँपालिका–४ का ७५ वर्षीय गुलाब पटनवारको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।