१ कार्तिक २०८३, आइतबार

तनहुँका विभिन्न स्थानबाट एकैदिन २६ जना फरार प्रतिवादी पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २६ जना फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले ७ दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–३ का ३१ वर्षीय अमृत भट्टराई, साधारण चोरी मुद्दामा जिल्ला अदालत तनहुँको २०७६ असार ८ गतेको फैसलाले जनही २ वर्ष २ दिन कैद र २२ हजार ५०० रुपैयाँ जरिवाना सजाय भई फरार रहेका शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माईकल भन्ने सन्तोष गौतम छन् ।

यस्तै जारी मुद्दामा जिल्ला अदालत तनहुँको २०७१ मंसिर ७ गतेको फैसलाले जनही १/१ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका भानु नगरपालिका–६ बस्ने बिमल थापा मगर र उनकै श्रीमती सञ्जु थापा मगर पनि पक्राउ परेका छन् ।

साथै लागूऔषध मुद्दामा फरार १ जना, गाली बेइज्जती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार २ जना, नाता कायम मुद्दामा फरार १ जना, करकाप मुद्दामा फरार ८ जना, लिखत वेइज्जती मुद्दामा फरार ६ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार १ जना गरी २६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।

सबै जनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।