
काठमाडौं, १५ कात्तिक । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिनाभित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न गएका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।
हाल फोहोर बिसर्जन भइरहेको सिसडोल ल्याण्डफिल साइटको निरीक्षण गरेपछि उनी बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षणमा पुगेका थिए ।
पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे डाँडा ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिँदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर बिसर्जन गर्न मिल्नेगरी काम सक्न कडा निर्देशन दिएका छन् ।
लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले मंसिर १ गतेबाट फोहोर बिसर्जन गर्न मिल्नेगरी अन्तिम काम भइरहेको जानकारी गराएका थिए । ‘‘तपाईले धेरै पटक भाका फेरिसक्नुभएको छ, अब मंसिर १५ गतेबाट फोहोर बिसर्जन गर्न मिल्नेगरी तयारी गर्नुस’, प्रगतिको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले भने ।
काठमाडौ र ललितपुर दुई महानगरसहित उपत्यकाको १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भइरहेको छ । ‘हामी मंसिर १ गतेभित्र फोहोर फ्याँक्नेगरी तयारी गरेका छौं’, निर्माण कम्पनीका प्रतिनिधि न्यौपानेले भने ।
प्रधानमन्त्री केपी ओलीले समेत केही दिनभित्रै फोहोर बिसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन अकस्मात बञ्चरेडाडा पुगेको बताइएको छ ।
मन्त्रीको साथमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक प्रद्मकुमार मैनाली सहितको टोली निरीक्षण गर्न पुगेका थिए ।
मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको बिकल्प नभएको बताए ।
सरकारको महत्वपूर्ण आयोजनाको रुपमा रहेको सो ल्याण्डफिल साइटमा करिब १०० वर्षसम्म फोहोर व्यवस्थापन गर्न मिल्ने बताइएको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलालले फोहोर वर्गीकरण नगरी बिसर्जन गर्दा २५ र वर्गीकरण गर्दा करिब १०० वर्षसम्म ढुक्कसँग फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए । सरकारले विभागलाई ल्याण्डफिल साइटमा आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न जिम्मा दिएको थियो ।
मन्त्री श्रेष्ठलाई ल्याण्डफिल साइटको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न पुगेका महानिर्देशक गेलालले अहिलेसम्म ल्याण्डफिल जाने बाटोको निर्माण, डाँडा काट्ने, ड्याम निर्माण, रातोमाटो बिच्छ्याउने, ग्याबिङ पर्खाल निर्माण, दुईवटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी गराए ।
‘अब फोहोर बिसर्जन गर्न स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युम पाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न मात्र बाँकी छ, त्यसपछि मन्त्रीज्यूले भनेकै समयमा फोहोर बिसर्जन गर्नेछौं’, महानिर्देशक गेलालले भने ।
विभागले हालसम्म करिब ४० करोड रुपैयाँ खर्च गरिसकेको छ । पहिलो चरणमा ३४ करोड ६८ लाख ७४ हजार र दोस्रो चरणको लागि ४६ करोड ५ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता गरिसकेको छ । पहिलो चरणको निर्माण सम्झौता बैशाख २२ सम्म थियो ।
लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभिले निर्माण सम्पन्न गर्न नसकेपछि विभागले यही कातिक २२ गतेसम्म म्याद थपेको थियो । दोस्रो चरणको निर्माण ठेक्का कालिका कन्ट्रक्सनले पाएको थियो । सो कम्पनीले आगामी जेठ १९ भित्र सम्पन्न गर्ने सम्झौता गरेको छ ।
ठेकेदार कम्पनीले कोभिड–१९को स्वाथ्यजन्य समस्याको कारणले कामदार र निर्माण समाग्री आपूर्तिमा कठिनाई, सिसडोलमा फोहोरको पहिरो गई आगमन अबरुद्ध भएको र कोल्पुखोलामा वर्षातमा बाढी आएर निर्माण कार्यमा प्रभावित भएको जनाएको छ ।
१३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर बिसर्जन भइरहेको थियो । दैनिक १ हजार १०० मेट्रिक टन फोहोर बिसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाडौं महानगरपालिकाबाट मात्र दैनिक करिब ७०० मेट्रिक टन फोहर बिसर्जन भइरहेको छ ।
२०६२ सालमा २ वर्षको लागि मात्रै फोहर व्यवस्थापन गर्न मिल्लेगरी मात्र सिसडोल ल्याण्डफिल साइट तयार गरेको थियो । लगत्तै दीर्घकादीन रुपमा फोहोर व्यवस्थापन बञ्चरेडाँडामा गर्न १ हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।
उपत्यकाको फोहोर व्यवस्थापन गर्न जापानिज सहयोग नियोग (जाइका)ले सन् २००२ मा सिसडोल ल्याण्डफिलसाइट हस्तान्तरण गरेपछि बञ्चरेडाँडा दीर्घकालीन ल्याण्डफिल साइटको कन्सेप्चुयल डिजाइन तयार गरी १ अर्ब ८६ करोड लाग्ने अनुमान गरेको थियो ।
जाइकाले सो ल्याण्डफिल साइट सन् २००९ सम्ममा सम्पन्न हुने जनाएको थियो ।
जाइकाले कन्सेप्चुयल डिजाइन तयार गरेको ११ वर्ष बितिसकेको छ । सरकारले २०६२ सालमै तीन वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर ब्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । लगत्तै १ दशक अघि बञ्चरेडाँडाको ल्याण्डफिल साइटको जग्गा अधिग्रहण गरेको थियो ।















प्रतिक्रिया