
दाङ, १५ कात्तिक । दाङको तुलसीपुरमा टीकाको दिन कुमार बिकको खुट्टा छिनाल्ने घटनामा संलग्न भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका–१६ निवासी २२ बर्षीय पवन चौधरी र वडा नं. १० पड्ढा निवासी २४ बर्षीय अमृत चौधरीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ परेका अमृत र पवन ज्वाइँ–जेठान भएको खुलेको छ ।
अनुसन्धानका क्रममा उनीहरुले अपराध स्वीकार गरिसकेको प्रहरीले बताएको छ । आरोपीले दशैंको टीकाको दिन साढे ९ बजे उपमहागनरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार बिकको बायाँ खुट्टा चुरीगाँठादेखि तलतिरको भाग काटेर अलग गराइदिएका थिए ।
घटनामा संलग्न खोज्ने क्रममा प्रहरीले ८० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
आरोपीले प्रयोग गरेको खुर्पा, घटनाको दिन लगाएको कपडा पनि प्रहरीले बरामद गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घाइते विकको भारतको लखनउँमा उपचार भइरहेको छ । पक्राउ परेका अमृतले लगाउने जुत्तामा लागेको रगतका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया