
काठमाडौँ, ७ कात्तिक । नेपाली सेनाद्वारा शु्क्रबार अपरान्ह सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ समारोह सम्पन्न भएको हो ।
समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थानुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।
सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो ।
बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरेको थियो ।
कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिक रूपमा मात्र आयोजना गरिएको हो ।
यस पटक बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो ।
बढाइँ हेर्न आमन्त्रण गरिएका पाहुनालाई सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था गरिएको थियो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गराइएको थियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित थिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रिगण, मुख्यसचिव शंकरदास वैरागी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि फूलपाती बढाइँ हेर्न सैनिक मञ्च पुगेका थिए ।















प्रतिक्रिया