८ कार्तिक २०८३, आइतबार

यसरी भयो रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन (फोटोफिचर)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् ।

मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गरिन् ।
त्यसक्रममा, राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा पूजाको आरती लिनुका साथै पोखरीमा जल अर्पण पनि गरिन् ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य मन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल अर्पण गरेका थिए ।

उद्घाटनपछि शुभकामना मन्तव्य दिँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गति लिएको उल्लेख गरिन् र त्यसैको परिणति आज ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरुप र प्रविधिमा जीर्णोदार एवं पुनर्निर्माण सम्पन्न भएको बताइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिइन् ।

उनले भनिन्, ‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ । यसबाट साँस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायतका पुनर्निर्माणका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराए । उनले भने, ‘यही मंसिरभित्र सिंहदरबारको मख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ । यही पौष महिनाभित्र २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ ।

कार्यक्रममा उपस्थिति अन्य अथिति एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारी एवं कर्मचारीहरुले विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल पोखरीमा अर्पण गरेका थिए । त्यसअघि बालगोपालेश्वर मन्दिरको प्राण प्रतिष्ठा र क्षमा पूजा गरिएको थियो ।

रानीपोखरी निर्माण कार्य उपभोक्ता समितिमार्फत तथा बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत गरिएको हो । यस कार्यको डिजाइन तथा सुपरीवेक्षणका लागि विभिन्न विषयगत विज्ञहरुसहितका परामर्शदाता परिचालन गरिएको थियो । पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका क्षेत्रबाट समेत कालिगढ ल्याइएको थियो ।

रानीपोखरी पुनर्निर्माणका सम्पूर्ण कार्यहरुको समन्वय, सहजीकरण एवं अनुगमनका निम्ति प्राधिकरणको नेतृत्वमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, सम्पदाविद्हरु समेत रहेको समन्वय तथा अनुगमन समिति गठन गरि परिचालन गरिएको थियो ।

रानीपोखरी एवं बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपैँया खर्च भएको छ ।

प्राधिकरणले रानीपोखरीको पुनर्निर्माणलाई विस्तार गरेर यसलाई रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप, शहिदगेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार पारेका छ जसलाई विभिन्न सरोकारवालाहरुको सुझावसहित अन्तिम चरणमा पुर्याएका छ ।

दरबार स्कूल हस्तान्तरण

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले भवनको मूल ढोकाछेउमा रहेको ताम्रपत्र अनावरण गरी विद्यालयको उद्घाटन गरेकी हुन् ।

भूकम्पबाट क्षतिग्रस्त विद्यालयको भवन पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याएकोमा राष्ट्रपति भण्डारीले चीन सरकारलाई धन्यवाद दिएकी छन् ।

विद्यालय उद्घाटन तथा हस्तान्तरण गर्न एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा विद्यालय भवन निर्माण गर्ने चिनियाँ कम्पनी सांघाई कन्सट्रक्सनका प्रतिनिधिले विद्यालयको साँचो पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गरेका थिए । त्यसपछि उक्त साँचो काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका थिए ।

चिनियाँ सरकारको ८५ करोड रुपैयाँको सहयोगमा निर्माण भएको भव्य भवन चार तले छ । साढे ९ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् ।