८ कार्तिक २०८३, आइतबार

रानीपोखरी र दरबार हाइस्कुलको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी तथा दरवार हाइस्कूलको वुधबार उद्घाटन भएको छ ।

२०७२ वैशाख १२ को भुकम्पले क्षतिग्रस्त रानीपोखरी तथा दरवार हाईस्कूलको पुनर्निर्माण सकिएपछि कात्तिक ५ गते उद्घाटन गरिएको हो । ऐतिहासिक रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको पुरानै कला शैलीमा निर्माण गरिएको छ ।

करिब २८ करोड रुपियाँको लागतमा पुनर्निर्माण गरिएको रानीपोखरीको राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते शिलान्यास गरेकी थिइन् ।

उदघाटन समारोहमा राष्ट्रपति भण्डारीले भनिन्, “आजैका दिन रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”

उनले विनाशकारी भूकम्पले गरेको क्षतिको पुनर्निर्माणमा सहयोग गरेकोमा चीन सरकार र चिनियाँ जनताप्रति आभार व्यक्त गरेकी छन् ।

“मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ” उनले भनिन् ।

राष्ट्रपति भण्डारीले भनिन् “पुनर्निर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु ।”

राष्ट्रपति भण्डारीले क्षतिग्रस्त अन्य संरचना पनि चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा राष्ट्रपति भण्डारीले भूकम्पमा परी ज्यान गुमाएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । भूकम्पबाट घरबारबिहीन सबैलाई घरबासको व्यवस्थासहित पुनस्र्थापना पनि उनले बताइन् ।

“राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले हाम्रा पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको छ” उनले भनिन् । सो अवसरमा वडादशैं, तिहार तथा छठ पर्वको शुभकामना पनि व्यक्त गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी परिसरमा निर्माण गरिएको ताम्रपत्रको अनावरण गरिन् । त्यस्तै, विभिन्न जलासय तथा तीर्थस्थलबाट ल्याइएको जल रानी पोखरीमा अर्पण गरेकी थिइन् । सो अवसरमा प्रधानमन्त्री, सरकारका मन्त्री लगायतले विभिन्न जलकुण्डबाट ल्याइएको जल रानी पोखरीमा अर्पण गरिन् ।

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीले बालगोपालेश्वर मन्दिरको परिक्रमा तथा पूजा गरे । सो मन्दिर भाइटिकाको दिन मात्र खुला हुन्छ । २०७२ भुकम्प पश्चात मन्दिर प्रवेश बन्द रहेको थियो । यस वर्षको भाइटिकाका दिन सर्वसाधारणका लागि सो मन्दिर खुला गरिने भएको छ ।
त्यस्तै, राष्ट्रिय प्राधिकरणकाका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर निर्माणले पुरानो इतिहास जोगिएको बताएका छन् ।