धनगढी, ८ चैत । कैलालीको गदरियास्थित जनता उच्चमाविका प्रधानाध्यापकलगायत शिक्षकहरुले स्कुलमै ५७ हजारको रक्सी सेवन गरेको बिल लेखापरीक्षण पास गराएका छन् ।
२०६९ सालको लेखापरीक्षणमा रक्सी खाएको बिल पास भएको तथ्य अहिले विद्यालयका शिक्षक दुई समूहमा विभाजित भएपछि बाहिर आएको हो ।
प्रधानाध्यापक हरिप्रसाद यादवले मदिराका बिल पास गराएको आरोप अभिभावकले लगाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
विद्यालयलाई सरस्वतीको मन्दिर मानिन्छ, विद्यालयबाट पाँच सय मिटरभित्र मदिरा बिक्री गर्न पनि पाइँदैन, तर प्रधानाध्यापकले मदिरा सेवन गरेका बिल पास गराएका छन्,’ अभिभावक चन्द्रबहादुर बोहराले भने ।
२०६९ सालको लेखापरीक्षणमा भोड्का, भर्जिन, जिन, बियर र मासुको गरी ५७ हजार रुपैयाँभन्दा बढीका बिल पास गराइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । गदरिया कैलाली सदरमुकामदेखि ४० किमी पूर्वमा पर्छ ।















प्रतिक्रिया