आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

‘मुख्यमन्त्री बन्ने भए दुई वर्षपछि जितेर आउनुस् कँडेलजी, म राजीनामा दिन्न’

दैनिक नेपाल २०७७ कार्तिक ४ गते ८:४६

काठमाडौं, ४ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यमलाल कँडेलका लागि आफूले राजीनामा नदिने बताएका छन् ।

टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन’मा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ता मुख्यमन्त्री शाहीले दुई वर्षपछि जितेर मुख्यमन्त्री बन्न कँडेललाई चुनौती दिए । उनले आफूलाई सुरुदेखि नै कँडेलले असहयोग गर्दै आएको बताए ।

‘यमलाल कँडेलले मलाई सुरुदेखि नै मान्नु भएको छैन । उहाँले सुरुदेखि अटेरि गर्नुभएको छ’, शाहीले भने, ‘दुई वर्षपछि जितेर आउनुस् मुख्यमन्त्री बन्नुस् ।’ शाहीले कँडेलका लागि आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताए ।

अहिले आफ्नो पक्षमा बहुमत रहेको बताएका मुख्यमन्त्री शाहीले भने, ‘मेरो पक्षमा बहुमत छ । दुई घण्टाको लागि मात्रै हो यमलाल कँडेलको बहुमत । त्यसपछि सबै बहुमत मसँग छ ।’
शाहीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सात जना प्रदेश सांसदहरूले हस्ताक्षर फिर्ता लिएको पत्र आफूसँग सुरक्षित रहेको बताए ।

‘अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सांसदहरूले हस्ताक्षर फिर्ता लिएको पत्र मसँग छ’, उनले भने, ‘सात जनाले फिर्ता लिएका छन् ।’

शाहीले कर्णाली प्रदेश सरकार पुनर्गठन हुने सक्ने बताए । उनले प्रदेश सांसदहरू खरिद बिक्री गरेर आफूले बहुमत नपुर्‍याएको बताए । शाहीलाई सांसद खरिद बिक्रीको आरोप कँडेल समूहले लगाएको छ ।

‘आवश्यक्ता भयो भने मन्त्रिमण्डल पुनर्गठन गर्न सक्छु’, उनले भने, ‘सांसद खरिद बिक्री गरेको छैन । प्रमाण दिनुपर्छ । सांसद खरिद बिक्रीको प्रमाण उहाँहरूले दिन सक्नु हुँदैन ।’

मुख्यमन्त्री शाहीले गुलाबजंग शाहको प्रमुख सचेतकको पद फिर्ता नहुने चेतावनी दिए । उनले आफूविरुद्ध लाग्नुभन्दा अगाडि प्रमुख सचेतक पदबाट राजीनामा दिएर प्रदेश सांसदहरूलाई हस्ताक्षर गराउनुपर्ने थियो भनेका छन् ।

‘मेराविरुद्ध घरघरमा सहि गराउँदै हिँड्ने गुलाबजंग शाहको प्रमुख सचेतक पद फिर्ता हुँदैन’, मुख्यमन्त्री शाहीले भने, ‘मेराविरुद्ध लाग्न शाहजीले पहिला प्रमुख सचेतक पदबाट राजीनामा दिनुपर्छ ।’

कर्णाली प्रदेशको विवाद समाधानतिर जान खोजी रहेका बेला मुख्यमन्त्री शाहीले असन्तुष्ट पक्ष चिडिने गरेर अभिव्यक्ति दिएपछि पूर्वएमाले र पूर्वमाओवादीभित्री पुनः विवाद बाहिएर आएको छ ।

प्रतिक्रिया
सम्बन्धित