१ कार्तिक २०८३, आइतबार

‘कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार पन्छिन मिल्दैन’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारको दायित्वबाट कुनै पनि हालतमा सरकार पन्छिन नमिल्ने बताएको छ ।

काग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख एवं प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारलाई प्रश्न गरेका छन्, ‘महामारीमा नगर्ने भए उपचार किन चाहियो सरकार ?’

‘कोरोना महामारीबाट जनतालाई जोगाउन असफल प्रमाणित भइरहेकोे वर्तमान सरकारले परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णयलाई नेपाली कांग्रेसले अत्यन्तै गैह्रजिम्मेवार व्यवहारका रूपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कोरोनाले जनताको आर्थिक जीवनमा परेको असरलाई दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको कांग्रेसले स्पष्ट पारेको छ । ‘संक्रामक रोग उपचारको कानूनी व्यवस्था अनुरुप पनि सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन’, विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘सर्वोच्च अदालतले केही अघि निःशुल्क रूपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले जनता, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।’

कोभिड अस्पतालको अनिश्चितता, सामुदायिक आइसोलेसनहरु तयार गर्न ढिलाइ, भेन्टिलेटर अभाव, रेम्डेसिभिरको कालोबजारी, अव्यवस्थित क्वारेन्टाइन र शव ब्यवस्थापनमा सम्म लहडको नीतिले ‘सरकारको बौद्धिक र भौतिक दुवै अस्तित्वमा भयानक प्रश्न चिन्ह’ खडा गरिसकेको कांग्रेसको ठहर छ ।

उपचारको दायित्वबाट पन्छिएपश्चात् त ‘देशमा सरकार छ’ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्दत रहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

‘सांसद विकास कोष, दशैं भत्तालगायत खारेज गरेर जनताको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य भएको कांग्रेसले बताएको छ ।