
काठमाडौं, २ कात्तिक । नेपाली सेनाको मुख्यालयमा पृतनापति समन्वयात्मक बैठक आजदेखि शुरू भएको छ ।
आगामी मंगलबारसम्म जंगी अड्डामा सञ्चालन हुने ३ दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को आज प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले कार्यालयबाटै शुभारम्भ गरे ।
नेपाली सेनाले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव तथा जङ्गी अड्डाका रथीबृन्दको उपस्थिति रहेको थियो भने पृतनापतिहरु यथास्थानबाट भर्चुअल रुपमा सहभागी भएका थिए ।
उक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भिरता र संवेदनशीलतालाई दृष्टिगत गर्दै यस्ता विषयहरुमा नियमित अन्तरक्रिया भइरहनु पर्ने र यस्तो छलफलबाट महत्वपूर्ण निष्कर्षहरु निस्कने विश्वास व्यक्त गरे ।
सोही क्रममा उनलेले कोभिड–१९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शव व्यवस्थापन तथा बिपद्का विभिन्न घटनाहरुमा उद्धार तथा सहयोगमा नेपाली सेनाले खेलेको भुमिका तथा हालसालै नेपाली सेनाले सम्पन्न गरेको घाँटीबगरदेखि छाँग्रु सम्मको गोरेटो÷घोडेटो बाटो निर्माणको प्रशंसा गरेका थिए ।
साथै नेपाली सेनाको आधुनिकीकरण योजना तथा आर्थिक अनुशासनको कायमी र प्रणाली र पद्धतीको कार्यान्वयनमा नेपाल सरकारको पूर्ण सहयोग र समर्थन रहने प्रसंग समेत प्रधानमन्त्रीले उल्लेख गरेको नेपाली सेनाले जानकारी दिएको छ ।
सो अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सृजित अन्यौलता एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतिहरुको सामना गर्नेगरी आगामी कार्ययोजनाको निर्माण गर्न यो समन्वयात्मक बैठक उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भइरहेको र यस्तै सहयोग भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखेको बताए ।
समन्वयात्मक बैठकको क्रममा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया