
काठमाडौं, २७ असोज । एनआईसी एशिया बैंकले दशैं, तिहार, नेपाल संवत र छठ पर्वलाई लक्षित गरी चाडपर्व विशेष योजना ल्याएको छ ।
योजनाअनुसार अनलाइन सामान खरिद गर्न चाहने ग्राहकले २५ प्रतिशतसम्म नगद छूट पाउने भएका छन् । उक्त योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस, ठूलो पसल, इन्फीस्टोर, ओक्डाम र कलमार्ट जस्ता ई–कमर्शबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् ।
नेपालमा अनलाइन किनमेलको अभ्यास बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।
पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितिलाई दृटिगत गर्दै बैंकले सस्तो डिल र ग्यापु मार्केटप्लेसमा २० प्रतिशत वा रू. २ हजारसम्म, कलमार्टमा २५ प्रतिशत वा रू. १ हजार ५०० सम्म तथा ठूलो पसल, इन्फीस्टोर र ओक्डाममा १५ प्रतिशत वा रू. १ हजारसम्म नगद फिर्ता हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको बताएको छ । बैंकमा आवद्ध ग्राहकले असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म उक्त छूट प्राप्त गर्न सक्ने छन् ।
साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आई–सर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन पनि बैंकले अनुरोध गरेको छ ।
बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्समार्फत जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको बैंकको भनाइ छ । बैंकले सहकार्य गर्न इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा बैंकको साइृबरसोर्स अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहकको भुक्तानी रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने पनि बताएको छ ।















प्रतिक्रिया