
काठमाडौं, २६ असोज । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने भएको छ ।
यससम्बन्धी बैंक र नेपाल अडिटर्स एशोसिएसन (अडान) बीच सोमबार एक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र एशोसिएसनका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छूटसहित प्रोफेशनल कर्जा प्रदान गर्ने बताइएको छ । यस्तै लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ सेवाहरु सहज रुपमा प्रदान गरिने भएकाले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
अडानले लेखा व्यवसायसँग सम्बन्धित लेखापरीक्षक एवं लेखा व्यवसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रीय कार्यसमिति रहेका छन् ।
यस्तै मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।
साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबारमा प्रोत्साहन गर्न बैंकका ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।















प्रतिक्रिया