१ कार्तिक २०८३, आइतबार

पदको दुरुपयोग गरेको भन्दै चौकीका सबै प्रहरी परे कारबाहीमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २६ असोज । पदको दुरुपयोग गर्दै लापर्बाही ढंगले काम गरेको भन्दै एक चौकीमा कार्यरत सबै प्रहरी कारबाहीमा परेका छन् ।

धनगढी उप–महानगरपालिका–१४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत सई गोपाल कार्कीसहित १० जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको बताइएको छ ।

सो चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको छ । जिल्ला तानिएका १० जनामाथि थप छानबिनका साथै आन्तरिक कारबाही हुने बताइएको छ ।

भदौ २८ गते सोही चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेका थिए । सो घटनामा समेत प्रहरीले लापरबाही गरेको ठहर गर्दै ३ प्रहरीलाई कारबाहीको सिफारिस गरिएको थियो ।

केही समयअघि सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको समेत आरोप लागेपछि उनीहरूलाई जिल्ला झिकाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए ।