१ कार्तिक २०८३, आइतबार

प्रदेशसभा सदस्यसहित २७ जनामा कोरोना संक्रमण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीका प्रदेशसभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशसभा सदस्य यादवले  सामाजिक सन्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरुलाई पीसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले पनि पुष्टि गरे । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका चार कर्मचारीसहित राजविराजका नौजना सङ्क्रमित भएका छन् ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, पत्‍नी  र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका ६ का एक पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीमा पाँच दिनअघि सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म १ हजार ४०१ जना कोरोना सङ्क्रमित भएकामा १ हजार ११२ जना निको भएका छन् । मृत्यु हुनेमा ३ महिलासहित २१ जना छन् । रासस