मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

राजस्थान रोयल्सले निकाल्यो तेस्रो जित

दैनिक नेपाल २०७७ असोज २६ गते ७:०४

काठमाडौं, २६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो प्रतियोगितामा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको छ ।

आइतबार राति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई साविक विजेता मुम्बई इन्डियन्सले पराजित गर्दै पाँचौं जित निकालेको छ ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । दुवै खेलाडीले समान ५३ रन बनाएर आउट भए ।

यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डेय १२ रनमा अविजित रहँदा केइरन पोलार्ड ११ रनमा अविजित रहे । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।

यसैबीच आईपीएल क्रिकेटमै हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । यस्तै सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

प्रतिक्रिया
सम्बन्धित