
काठमाडौं, २५ असोज । निर्माण व्यवसायीहरुले सबै परियोजना तथा ठेक्काहरुको म्याद स्वतः १ वर्ष थप गर्न सरकारसँग माग गरेका छन् ।
लकडाउनको अवधिभर विकास निर्माणका कार्य हुन नसकेको समयावधिलाई सार्वजनिक खरिद ऐनले समेत महामारीलाई विषम् परिस्थिति भनेर परिभाषित गरेको अवस्थामा परियोजना एवं ठेक्काहरुको म्याद स्वतः १ वर्ष एकमुष्ठ थप गर्नुपर्ने उनीहरुको भनाइ छ ।
आइतबार भौतिक पूर्वाधर तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङसँग भेट गरी उनीहरुले मन्त्रिपरिषद्को असार २९ को निर्णयअनुसार लकडाउन अवधिमा सम्झौता भएका र म्याद समाप्त भएका हकमा ६ महिना मात्र म्याद थप भए पनि उक्त समय अपुग भएको बताए । उक्त निर्णयबाट सम्पूर्ण निर्माण कार्यहरुको म्याद थप नभएको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काहरुको म्याद स्वतः १ वर्ष थप गरिनुपर्ने महासंघको माग गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा पनि जानकारी गराएको छ । सो अवसरमा धरौटी रकम, कोभिड–१९ को मापदण्ड, निर्माण कार्यको म्याद थप, बैंक ग्यारेन्टी तथा बिमा, क्रेडिटलाइन कमिशन लगायत विषयमा मन्त्री नेम्वाङलाई जानकारी गराएको महासंघले बताएको छ ।















प्रतिक्रिया