१ कार्तिक २०८३, आइतबार

कुनै क्षेत्र विशेषलाई मात्रै सोच्दा प्रदेश बलियो हुँदैन : मुख्यमन्‍त्री पोखरेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बुटवल, २० असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कुनै एक क्षेत्र विशेषलाई मात्र सोचेर अगाडि बढ्दा प्रदेश बलियो हुन नसक्ने बताएका छन् ।

प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्ने बताउँदै उनले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भएर सोच्दा प्रदेश बलियो बनाउन नसकिने बताएका हुन् ।

प्रदेश ५ को प्रदेशसभा बैठकमा विशेष समय लिएर धारणा राख्दै मुख्यमन्त्री पोखरेलले भने, ‘हामीले हाम्रो प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्छ । कुनै क्षेत्र विशेषको केन्द्रित भएर सोच्छौं भने यो सम्भव छैन ।’

मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भए प्रदेश ५ को समग्र समृद्धिको परिकल्पना गर्न नसकिने बताए । प्रदेशसभा र प्रदेश सरकारले प्रदेशबारे सोच्दा प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नागरिकको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्ने आवश्यकता उनले औंल्याए ।

‘हामीले सोच्दा हाम्रो प्रदेशमा रहेका १२ वटै जिल्लाको समृद्धिको परिकल्पना सामूहिक रुपमा गर्नुपर्दछ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश सरकार र प्रदेशसभाले सोच्दा १२ वटै जिल्लाका जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्दछ ।’

पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी प्रस्ताव गरेको बताएका छन् ।

अहिले ५ नम्बर प्रदेशमा रहेका विगतका ३ वटा अञ्चल (लुम्बिनी, राप्ती र भेरी) को केन्द्रविन्दुको रुपमा राप्ती उपत्यकालाई राजधानी बनाउन खोजेको उनको भनाइ छ ।