
काठमाडौं, २० असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित पुतली बगैचामा निर्माणाधीन संघीय संसद भवनको मंगलबार निरीक्षण गरेका छन् ।
कोभिड–१९ का कारण निर्माण कार्यमा केही बाधा पुगेको भए पनि निर्माणकार्य उत्साहपूर्वक रुपमा अगाडि बढिरहेकोमा अध्यक्ष तिमिल्सिनाले खुशी व्यक्त गरे । अहिले संघीय संसदको लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउँदै आएको परिप्रेक्षमा कम्तीमा पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभाहल छिट्टै नै तयार गरी सञ्चालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने उनको भनाइ छ ।
निर्धारित समय अगाबै निर्माण कार्य सम्पन्न गर्नका लागि दुई सिफ्ट होइन तीन सिफ्ट गरी चौबीसै घण्टा काम गर्ने गरी योजना बनाउनका लागि निर्माण कम्पनी तथा सरोकारवालाहरुलाई उनले सो अवसरमा निर्देशन समेत दिएका छन् ।
सार्वजनिक रुपमा निर्माण गरिने विकास निर्माणका योजनाहरुलाई समय अगाबै सम्पन्न गर्नका लागि केवल ८ घण्टामात्र काम गरेर सम्भव नहुने भएकाले सिंहदरबारबाटै २४ घण्टा काम गरी समय अगावै निर्माण कार्य सम्पन्न गरी अन्य निर्माण कार्यमा संलग्न पक्षहरुलाई प्रोत्साहित समेत गर्नका लागि निर्माण कम्पनीलाई सुझाब समेत दिए ।
करिब ९ अर्बको लागतमा बन्न लागेको उक्त भवनको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न गरिने लक्ष्य छ ।















प्रतिक्रिया