
काठमाडौं, २० असोज । नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।
बुटवलमै राजधानी यथावत् राख्नुपर्ने अडानसहित आन्दोलनको नेतृत्व समेत गरिरहेको कांग्रेसले सांसदहरुलाई ह्विप जारी गरे पनि कतिपय सांसदले ह्विप नमान्ने भएका छन् ।
आज मंगलबार बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेका थिए । उक्त प्रस्तावमाथि सोमबार छलफल भएको थियो । मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिइसकेका छन् ।
तर कांग्रेसले भने बैठक अवरोध गर्दै नाराबाजी र तोडफोड समेत गरेको छ । यद्यपि, प्रदेशको नाम लुम्बिनी राख्नेबारे भने कांग्रेसको समर्थन छ ।
प्रदेशसभामा ८७ जना सांसद छन् । प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ । त्यो मत सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग छ ।
नेकपाका ६१ सांसद छन् । ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानी संविधान अनुरुप पारित हुन्छ ।
दाङ राजधानी सार्न नेकपाका १४ सांसदले विरोध गरे पनि नेकपाले पनि सोमबार नै दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।
प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन् । यसैबीच कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताइसकेका छन् ।
दाङबाट निर्वाचित सांसद चौधरीले दाङ भालुवाङलाई राजधानी बनाउनुपर्ने आफ्नो मत राखिरहेका छन् । पार्टीले कारबाही गरे पनि ह्विप नमान्ने उनको भनाइ छ ।















प्रतिक्रिया