१ कार्तिक २०८३, आइतबार

साझा पार्टीको प्रश्न– के डा. केसीलाई मार्न खोजेको हो ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै साझा पार्टीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था खतरातर्फ उन्मुख हुँदै जाँदासम्म पनि त्यसप्रति सरकारको उदासिनताबारे साझा पार्टी गम्भीर चिन्ता प्रकट गरेको हो ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साझाले डा. केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? भन्दै प्रश्न समेत गरेको छ । ‘विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो’, साझाले विज्ञप्तिमा भनेको छ, ‘डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन् । तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरि फेरि अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो ।’

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी छ पटक अनशन बसिसकेका छन् । यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन जगरेको भन्दै साझाले ‘कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्’ भनेझैँ रवैया प्रस्तुत गरिरहेको आरोप लगाएको छ ।

‘के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’, विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुनस् अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन ? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?’

डा केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दवावमूलक प्रदर्शन गर्दै आएको छ । सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी समेत दिएको छ ।