१ कार्तिक २०८३, आइतबार

सामाजिक सुरक्षा भत्ता निरन्तरताका लागि सामान्य प्रशासनलाई पत्राचार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्ति लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत चैत्रदेखि एकल महिला र अतिअशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।

‘आर्थिक वर्ष २०७७÷७८ को बजेट बक्तव्यमा समेत हालसम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षाभत्ताको निरन्तरता हुने व्यवस्था’ मिलाउन सो मन्त्रालयलाई पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ ।

गत चैतदेखि एकल र अतिअशक्त अपांगता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौतीभएको भनी राष्ट्रिय अपांग महासंघ–नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा निवेदन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि गृह मन्त्रायलाई पनि सोही व्यहोराको पत्राचार गरिएको मन्त्रालयको भनाइ छ । यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत संवेदनशील वर्ग र समुदायले यसअघि पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौती हुन नदिने दृढता व्यक्त गरेको छन् ।

उनले केही समय यता ती भत्ताहरु रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहलकदमी लिइएको पनि स्पष्ट पारेको छन् ।