साना, ६ चैत । यमनको राजधानीमा सिया हुथी लडाकू प्रार्थना गरिरहेका मस्जिदमा तीन आत्मघाती बम आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक बम सानाको दक्षिणी भागमा अवस्थित बद्र मस्जिदमित्र विस्फोट भएको र प्रार्थनाकर्मी भाग्दै गरेको अवस्थामा अर्को बम ढोकामा विस्फोट भएको प्रत्यक्षदर्शीले बताए ।
तेस्रो आत्मघाती बम आक्रमण सानाको उत्तरी भागमा अवस्थित अल–हासहुस मस्जिदलाई लक्षित भएको थियो ।
हुथी लडाकूको अल–मसिरा टेलिभिजनले राजधानीको अस्पतालले तत्कालै रक्तदानका लागि आग्रह गरेको जानकारी दिएको छ ।
जनवरीमा सानामा प्रहरी विद्यालयमा नयाँ भर्ना हुनचाहनेको लाममा एक कारबम विस्फोट हुँदा ४० व्यक्तिको मृत्यु भएको थियो र दर्जनौँ घाइते भएका थिए । त्यसपछि यसलाई घातक आक्रमणको रूपमा लिइएको छ ।
यमनको उच्च सुरक्षा निकायले अल–कायदाले यी विस्फोट गराएको दाबी गरेको छ । यसो भए पनि जिहादी सञ्जाल अल–कायदाका एक नेताले यी आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरे ।
सानालाई सेप्टेम्बरदेखि हुथीले नियन्त्रणमा लिएको छ ।
उनीहरूले आफ्नो नियन्त्रण क्षेत्र विस्तार गर्दा सुन्नी आदीवासी तथा अल–कायदा समूहले प्रतिरोध गरेका छन् । रासस/एएफपी














प्रतिक्रिया