२ कार्तिक २०८३, सोमबार

चिनीको मूल्यमा मनपरी किलोमै १७ रुपैयाँसम्म अन्तर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ असाेज । सरकारी स्वामित्वका संस्थानमार्फत पर्याप्त चिनी खरिद गरेर बजारमा हस्तक्षेप गर्न नसक्दा मूल्यमा बेथिति देखिएको छ । अहिले बजारमा चिनी किलोको ७३ रुपैयाँदेखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

व्यापारीले मनोमानी रुपमा चिनी बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले ७३ रुपैयाँ किलोमा बिक्री गरेको चिनी खुला बजारमा व्यापारीले ९० रुपैयाँसम्म लिने गरेका छन् । केही मार्ट, डिपार्टमेन्टल स्टोर्सले ८० देखि ८५ रुपैयाँमा चिनी बिक्री गरिरहेका छन् । तरकारीजस्तो चिनी सड्ने, गल्ने वस्तु नभएकाले मूल्यमा एकरुपता हुनुपर्ने हो तर छैन ।

उद्योगी र व्यापारीको मिलेमतोमा चिनीमा उपभोक्ता सधैं ठगिएको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘साल्ट ट्रेडिङमा सस्तो भए पनि मागेजति दिएको छैन,’ श्रेष्ठले भने, ‘ठूला व्यापारीको मिलेमतोमा चिनीमा खेल भइरहेको छ ।’ खुद्रा किराना पसलले ८५ देखि ९० रुपैयाँमा चिनी बिक्री गरिरहेको श्रेष्ठले बताए ।

सरकारको लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चिनी स्टक राखेर हस्तक्षेप गर्न नसक्दा उपभोक्ता ठगिएका हुन् । ती कम्पनीले सरकारले समयमा नै चिनी आयातको अनुमति नदिँदा मागको आधारमा आपूर्ति गर्न नसकेको बताउँछन् ।

आफूसँग सीमित चिनी भएकाले माग गरेका आधारमा आपूर्ति गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए ।

‘हाम्रो आउटलेटमा ७३ रुपैयाँ किलोमा बिक्री गरिरहेका छौं,’ झाले भने, ‘सरकारले समयमै चिनी आयात गर्ने अनुमति नदिँदा पर्याप्त स्टक छैन ।’ अहिले खुद्रा हिसाबले मात्र बिक्री गरिरहेको, नयाँ चिनी आएपछि मात्र ठूलो परिमाणमा दिन सक्ने झाले बताए । दिलीप पाैडेलले नागरिक दैनिकमा समाचार लेखेका छन् ।