काठमाडौँ, २ असोज । चितवनमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा मृत्यु हुनेमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालद्वारा जारी सूचनामा मिर्गौलाको डायलासिस गरिरहेका उनको यही भदौ १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
खोकी र श्वासप्रश्वासमा समस्या देखिएका उनको भदौ २३ गतेदेखि आईसीयूमा उपचार हुँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, चितवन मेडिकल कलेजका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति १२ः१८ बजेको समयमा मृत्यु भएको हो ।
स्वासप्रस्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । चितवनका १७ सहित जिल्लामा २९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।