
काठमाडौँ, १ असोज । रौतहटमा प्रहरी हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएको प्रकरणमा एसपीसहित ६ जना प्रहरीमाथि अनुसन्धान सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाका तत्कालीन प्रमुख एसपी रविराज खड्कासहित ६ जना प्रहरीविरुद्ध जाहेरी गरेर अनुसन्धान सुरु गरेको हो ।
आरोपितहरुमा तत्कालीन एसपी खड्का, डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्ट नविनकुमार सिंह, सई विरेन्द्र यादव, प्रहरी हवलदारद्वय मुन्नुकुमार सिंह र हिरोज थुनिया रहेका छन् । उनीहरुविरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा पीडित पनिलाल महराले सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका थिए ।
सरकारी वकिलको कार्यालयले कार्यालयको नाममा चलानी नम्बर ३४४ को पत्रसँगै किटानी जाहेरीसमेत पठाएपछि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धानमा दोषी देखिएमा आरोपितहरुलाई निलम्बन गरी हिरासतमा लिइने जनाएको छ ।
प्रहरी हिरासतमा रहँदा मृत्यु भएका विजयरामको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुँदा चोटपटक एवम् यातनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।
साउन ३१ गते गरुढा नगरपालिका वडा नं. ८ जिगडियाका २० वर्षीय निरञ्जन रामको हत्या गरेको अभियोगमा पक्राउ परेका ७ मध्ये विजयरामको हिरासतको यातनाबाट मृत्यु भएको थियो । दलित समाजले दोषीमाथि कारवाहीको माग गर्दै आइरहेका छन् ।















प्रतिक्रिया