काठमाडौ, ६ चैत । २०६६ फागुनमा शोधानान्तर घाटा २३ अर्ब ५२ करोड रुपैयाँ पुगेको थियो ।
त्यसको एक महिनामा युवराज खतिवडा राष्ट्र बैंक भित्र गर्भनरका रुपमा छिरेका थिए ।
अर्थतन्त्रको भयाभवस्थिति देखेपछि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट रेपिड क्रेडिट फेसिलिटि अन्तर्गत ४ करोड २५ लाख अमेरिकी डलर सहयोग लिइएको थियो ।
अन्तर्राष्ट्रिय संस्थाले राष्ट्र बैंकलाई अवस्था सुधार भैनसकेको भन्दै अन्य सहयोग लिन समेत भनेका थिए ।
‘वित्तिय क्षेत्र धरासायी हुने अवस्थामा छ, घरजग्गा सँग सबै ऋण जोडिएका छन, निस्किृय कर्जा वास्तविक छैन भन्दै आर्थिक संकट आउछ भनेका थिए’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘संकटले कुल ग्राहस्थ उत्पादनको ६ प्रतिशतसम्म खर्च गर्नुपर्ने अवस्था आउछ भन्दै सहयोग लिन भनेका थिए ।’
तर खतिवडाले आफ्नै तरिकाबाट अर्थतन्त्रको सुधार गर्ने बताउदै सहयोग लिन मानेनन । ‘उनीहरुको प्रतिवेदनमा आपत्ती जनाउदै धेरै पटक पत्राचार समेत भयो र अन्त्यमा गर्भनरले भनेजस्तै राष्ट्र बैंककै रणनीतिले अवस्थामा सुधार आयो’ ती अधिकारीले भने, ‘त्यसपछि विदेशीले पनि कसरी यस्तो भयो भनेर जिज्ञासा राख्दै आएका थिए ।’
खतिवडाले आफ्नो कार्यकालमा अन्तराष्ट्रिय समुदाय सँग समदुरी राखेको कान्तिपुर दैनिकले छापेको छ ।
घरजग्गाको अस्वभाविक कारोबारलाई नियन्त्रणमा लिनु र बैंक वित्तिय संस्थालाई रियलस्टेट कर्जामा सीमा लगाएर अर्थतन्त्र जोगाउन खतिवडाले महत्वपूर्ण योगदान दिए ।
गर्भनर विजयनाथ भट्टराईले केन्द्रिय बैंक छाड्न अघि सुरु गरेको यो अभियानलाई खतिवडाले परिमार्जन गर्दै अघि बढाए ।
घरजग्गा व्यवसायी र बैंकरको गतिलो कमाईमा एकाएक ब्रेक लागेपछि विरोध पनि ठुलै भयो ।
घरजग्गा व्यवसायीको छाता संगठनका अध्यक्ष एमाले नजिक भएपनि खतिवडाले पार्टीबाट आउने दबाब झेलेर आफ्नो योग्यता देखाए ।
‘घरजग्गा व्यवसाय अस्वभाविक भएको र रोक्न जरुरी छ भन्ने नीति महाप्रसाद अधिकारीको थियो’ राष्ट्र बैंकका एक पूर्व कर्मचारी भन्छन, ‘त्यसलाई खतिवडाले चौतर्फी दबाब झेलर अघि बढाए ।’
खतिवडाले लिएको अडान र नीतिका कारण धेरैले उनको बाकी कार्यकालको दिनगन्ती गरेर बसेका थिए ।
खतिवडाको कार्यकालमा मर्जर र एक्विजिसन सम्बन्धी नीति बोकेर राष्ट्र बैंकले वित्तिय संस्थाको संख्या घटाउन सफल भयो ।
बुधवार दातृ निकायका प्रतिनिधि सँगको कार्यक्रममा खतिवडाले आफ्नो कार्यकाल अन्तिम समयमा रहेको बताउदै ७० वटा संस्था मर्जर पछि घटेर २५ मा झरेको सुनाउन भ्याए ।
संस्थाको संख्या घट्नमा राष्ट्र बैंकले ल्याएको नीति मात्र कारक थिएन ।
नीति पछि राष्ट्र बैंकले बैंकरलाई दिएको दबाब र एकपछि अर्को संस्थाको खस्कदो वित्तिय अवस्था सार्वजनिक हुनुले मर्जर सफल बनायो ।
बैंक वित्तिय संस्थामा देखिएका खराब प्रवृत्ति अन्त्यमा पनि खतिवडाले विशेष पहल चलाए ।
विजयनाथ भट्टराईले मुद्धा लगाएर जेल पुर्याउने वित्तिय माफिया विरुद्ध खतिवडाले प्रहार गरे । ‘विजयनाथ भट्टराई विरुद्ध उत्रिएको एनबी समूहलाई वित्तिय प्रणालीबाटै बाहिर गरिदिए’ एक पूर्व डेपुटी गर्भनरले भने, ‘खतिवडाले गरेका कारवाहीमा राजनीति पूर्वाग्रह पनि देखिएन ।’
खतिवडाकै कार्यकालमा एकपछि अर्को गर्दै वित्तिय संस्था समस्याग्रस्त घोषणा भए । दीपेन्द्र बहादुर क्षेत्रिले सुरु गरेको संस्था खारेजीमा पठाउने क्रमलाई खतिवडाले गति दिए ।
यस्ता संस्थामा सर्वसाधारणको रकम डुब्न नदिन खतिवाडकै कार्यकालमा निक्षेप सुरक्षण लागु भयो । ‘गलत काम गर्नेले कारवाहीको भागेदार हुनुपर्छ भन्ने संन्देश गयो र खराब व्यक्ति बाहिरिने क्रम पनि देखियो’ राष्ट्र बैंकका एक अधिकारी बताउछन् ।
खतिवडाले बैंक वित्तिय संस्थाको माइक्रो म्यानेजमेन्टमा समेत जोड गरे ।
प्रमुख कार्यकारी अधिकृतको तलब तोक्ने, व्यवस्थापन र संचालक समिति विच भिन्नता कायम गर्ने लगायतका काम उनले अघि बढाए ।
बैंक वित्तिय संस्थामा कर्जा र निक्षेपको व्याज अन्तरमा मापदण्ड बनाइदिए । धेरैले यस्ता निर्णयलाई खुला बजार विरोधी भने ।
‘बजार अर्थतन्त्र भनेको स्वेच्छाचारिता र अराजकता होइनु उनको भनाई यस्तै रह्यो । सार्वजनिक कार्यक्रम देखि व्यक्तिगत भेटघाटमा पनि सोचेर तार्किक कुरा गर्ने खतिवडाको कार्यकालको सुरुवातबाटै बैंकर चिडिए तर गलत साबित गर्न सकेनन ।
खतिवडाले फरक फरक राजनीतिक धारका अर्थमन्त्री सँग पनि सहकार्य गर्ने खुबी पनि देखाए । ५ वर्षको कार्यकालमा ६ जना अर्थमन्त्री सँग उनले काम गरे । जो अर्थमन्त्री आएपनि खतिवडाले लिएका नीतिमा कुनै असर परेन । ‘एक पटक भेटेर कुरा गरेपछि जसलाई पनि मनाउने खुबी उनमा छ’ राष्ट्र बैंकका एक अधिकारीले भने ।
माओवादीबाट अर्थमन्त्री भएका वर्षमान पुन पनि खतिवडालाई सकारात्मक सोच भएका विज्ञका रुपमा हेर्छन ।
‘सकारात्मक सोच भएका र आफ्नो क्षेत्रका विषयमा ज्ञान हुने विज्ञ व्यक्ति हुन’ पुनले भने, ‘मेरो कार्यकालमा पुरै सहयोग पाए र सल्लाह गरेर कृषि, जलस्रोत लगायतका क्षेत्रमा ऋण बढाउने निर्णय भएको थियो ।’
खतिवडाले वित्तिय क्षेत्रका समस्या हल गर्न कडा कदम उठाएको पुन बताउछन् । ‘बिभिन्न सुधार भए र वहाँको कार्यकाल सफल रह्यो’ उनले भने ।
कृषि र उर्जा क्षेत्रमा १२ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था खतिवडाकै कार्यकालमा भएको छ । यस्ता लगानीलाई प्रोत्साहन गर्न पुनरकर्जाको व्यवस्था पनि गरिएको छ ।
कार्यकालभर लघुवित्त संस्थालाई प्रोत्साहन गरेका खतिवडाले ५ ग्रामिण विकास बैंकलाई गाभेर एउटै बनाउन पनि विशेष भूमिका खेलेका छन् ।
खतिवडालाई कार्यकाल भर बिभिन्न आरोप पनि आइरहे । एमाले नजिकका कर्मचारीलाई गतिला स्थानमा नियुक्ती दिने र अन्यलाई भेदभाव गर्ने आरोप उनलाई लाग्यो ।
राष्ट्र बैंकमै कार्यरत आफ्ना ज्वाईलाई अन्तराष्ट्रिय मुद्रा कोषमा प्रतिनिधि बनाएर पठाएको विषय पनि चर्चामा रह्यो ।
बिदा भए युवराज खतिवडा
गर्भनरका रुपमा कार्यकालको अन्तिम दिन पनि युवराज खतिवडा केन्द्रिय बैंकमै देखिए ।
योजना आयोगको उपाध्यक्ष पद भन्दा ५ तह तल झरेर राष्ट्र बैंक छिरेका उनले सीमित कर्मचारी विच आफ्नो कार्यकालको समिक्षा गरे ।
‘आफ्नो कार्यकालमा भएका काम, सफलता र बाकी रहेका विषयमा बोल्नु भयो’ प्रवक्ता मिन बहादुर श्रेष्ठले भने ।
खतिवडाले वित्तिय स्थायित्वका लागि काम गर्न सकेको, मर्जरको सकारात्मक असर पर्न थालेको र मौद्रिक अनुसासन कायम भएको बताएका थिए ।
आफ्नो कार्यकालमा आएका बिभिन्न नीतिको विरोध भएपनि लिइएका कदम सहि ठहरिएको खतिवडाले उल्लेख गरे । ‘बैकर र व्यवसायी छुट्याउने काम सुरु भएपनि अझै धेरै गर्न बाकी रहेको बताउनु भएको थियो’ श्रेष्ठले भने ।
राष्ट्र बैंकको अन्तराष्ट्रिय सम्बन्धमा सुधार आएको तर पूर्वाधार, क्षमता विस्तार र अटोमेसनको काम अघि बढाउनु पर्ने उनले कर्मचारीलाई बताएका थिए ।















प्रतिक्रिया