काठमाडौँ, ३१ भदौ । बहराइनका राजकुमार गोरखाको मनास्लु हिमाल आरोहण गर्न नेपाल आइपुगेका छन् ।
राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली वुधबार विहान ११ बजे काठमाडौँ आइपुगेको हो ।
यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
राजकुमारको टोलीलाई एभ्रो विमानले काठमाडौँ ल्याएर बहराइन फर्किसकेको छ ।
हिमाल आहरोहणका लागि आएको टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन् । त्यसपछि काठमाडौँबाट लुक्ला हेलिकप्टर र जहाजमा जानेछन् भने लोबुचे हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछन् ।
उनीहरु करिब २ महिना नेपाल बस्ने पर्यटन बोर्डले जनाएको छ ।
२ वटा हिमाल आरोहणपछि अर्काे वर्ष सगरमाथा चढ्ने यस टोलीको लक्ष्य रहेको बताइएको छ । राजकुमार खलिफासँग १५ जना रोयल फोर्सका व्यक्तिहरु आएका छन् ।
राजकुमारसहितको यो टोलीको नेपालमा हिमाल आरोहणले महामारीका कारण शिथिल बनेको पर्यटनलाई मध्यपूर्वलगायत विश्वभर प्रचार हुने बताइएको छ ।