
पर्वत, २९ भदौ । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो । गएराति २ बजेदेखि निरन्तर परेको वर्षापछि घर माथिबाट खसेको पहिरोले पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृत अवस्थामा फेला पारेका हुन् ।
परिवारका अन्य व्यक्तिहरु भने पहिरो खसिरहेको अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरी चौकीले जनाएको छ । १२ जनाको संयुक्त परिवार बसेको घरमा पहिरोले क्षति पुर्याएको हो ।
घर माथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी शुरु गरेका थिए । पहिरोले विकका दुई भैँसी र दुई गाईसमेत पुरेको छ ।
त्यस्तै पहिरोबाट स्थानीय रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिरोका कारण करिब १०० रोपनी धानखेत बगरमा परिणत भएको छ ।















प्रतिक्रिया