
काठमाडौं, २५ भदौ । नेपाल–चीन संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्यूएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ प्राप्त गरेको छ ।
एअरलाइन्सले कम्पनी अडिटलाई अंगिकार गरेकोे, गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्वअडिट, प्रारम्भिक मूल्यांकन र ननकन्फर्मेन्सको निकासीलगायतलाई आधार बनाएर सो मानक प्रदान गरिएको हो ।
यो प्रमाणीकरणले हिमालय एअरलाइन्सकोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जिनीयरिङ सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गरेको कम्पनीको भनाइ छ ।
आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो । जसले एक प्रभावकारी गुणस्तर प्रणालीमार्फत उत्पादन र सेवाहरूले ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सुनिश्चित गर्दछ ।
आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने हिमालय एअरलाइन्सको प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरू निरन्तर प्रदान गर्न सक्ने क्षमतालाई प्रदर्शन गरेको हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

‘यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी हो । जसले हाम्रा ग्राहकहरूलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ’, उनले भने, ‘आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरूमा आधारित भई निर्मित छ, जसमा ग्राहकहरूलाई केन्द्रित गरी सेवा पुर्याउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रक्रिया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ ।’
आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा आफ्ना ग्राहकहरूले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरू पाउने उनको भनाइ छ ।
प्रमाणीकरणपश्चात् एअरलाइन्सले गत महिना मलेशियन एअरलाइन्स बरहाड (एमएच) सँग सम्झौता समेत गरिसकेको बताएको छ । मलेशियन एअरलाइन्स एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरूका लागि परिचित छ ।
यो सहकार्यको साथ अब हिमालय एअरलाइन्स लाइन स्टेशन स्थापनाका लागि सुसज्जित भएको कम्पनीको दाबी छ । वर्कशप क्षमताको वृद्धिसँगै अन्य एअरलाइन्सबाट आयआर्जन गर्न इन्जिनीयरिङ व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिने कम्पनीको विश्वास छ ।















प्रतिक्रिया