
धनकुटा, २३ भदौ । धनकुटामा करिब एक महिनादेखि विभिन्न क्लष्टरहरुमा जारी गरेको निषेधाज्ञा आज मंगलबारदेखि हटाइएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले सीमामा कडाइ गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो । पटक–पटक थपिएको निषेधाज्ञा हटेपछि जनजीवन सामान्य बन्न थालेको छ ।
बैठकले कोरोना भाइरसको सङ्क्रमण अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएकाबाहेक व्यापार, व्यवसायलाई सुरु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए ।
प्रत्यक्ष रुपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने गाडी तथा सर्वसाधारणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्ड अनुसार खोल्ने निर्णय गरिएको उनले बताए ।
धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा साउन २८ गते सङ्क्रमण देखिएपछि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडामा निषेधाज्ञा जारी गरेको थियो ।
त्यस्तै गएको भदौ ३ गते शहीदभूमि गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि प्रशासनले भदौ ४ गतेबाट ११ गतेसम्म धनकुटा जिल्लाभर निषेधाज्ञा थप गरेको थियो । कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेकाहरुको पीसीआर परीक्षण गर्ने काम भइरहेकाले समुदायस्तरमा नफैलिओस् भनेर प्रशासनले पुनः भदौ १७ गतेसम्म निषेधाज्ञा थपेको थियो ।
निषेधाज्ञाको बीचमा भदौ १३ गते धनकुटामा एकै पटक १९ जनामा कोरोना सङ्क्रमण देखिएको तथा त्यसै दिन धनकुटा आएका प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समेत धनकुटाबाट विराटनगर फर्केलगत्तै कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएर भदौ २२ गतेसम्म लम्ब्याएको थियो ।















प्रतिक्रिया