१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमित निको हुने दर बढ्यो

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेपालमा कोरोना सङ्क्रमित निको हुने दर बढेको छ ।

भदौ १४ गते सङ्क्रमित निको हुने दर ५४ प्रतिशत रहेकोमा एक हप्तापछि आइतबार ६२ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

आइतबार एकै दिन १ हजार ८१४ जना निको भएका छन् । योसँगै नेपालका कुल सङ्क्रमित ४६ हजार २५७ जनामध्ये २८ हजार ९४१ जना निको भइसकेका छन् । साउन १५ मा निको हुने दर ७२ प्रतिशतसम्म पुगेको थियो । तर, पछिल्ला दिनमा संक्रमण पुष्टि हुने संख्या बढेसँगै निको हुने दर घट्दै गएको थियो ।

मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सार्क देशमध्ये सबैभन्दा धेरै पाकिस्तानमा निको हुने दर ९४ दशमलव ८ प्रतिशत रहेको छ । यस्तै श्रीलंकामा ९३ दशमलव ३ प्रतिशत, अफगानिस्तानमा ७७ दशमलव ६ प्रतिशत, भारतमा ७७ दशमलव २, बंगलादेशमा ६७ दशमलव २ प्रतिशत, भुटानमा ६५ दशमलव ८ र माल्दिभ्समा ६५ दशमलव ५ प्रतिशत रहेको छ ।

विश्वमा निको हुने दर ७० प्रतिशत छ । नेपालमा अहिले १७ हजार २७ जना सक्रिय संक्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ३६ दशमलव ८ प्रतिशत हो । सार्क देशहरुमध्ये अफगानिस्तानमा १८ दशमलव ८, बंगलादेशमा ३१ दशमलव ४, भुटानमा ३४ दशमलव २ र भारतमा २१ प्रतिशत सक्रिय सङ्क्रमित छन् ।

यस्तै माल्दिभ्समा ३२ दशमलव २ प्रतिशत, पाकिस्तानमा ३ दशमलव १ र श्रीलंकामा ६ दशमलव ३ प्रतिशत सक्रिय सङ्क्रमित रहेका छन् । विश्वमा सक्रिय सङ्क्रमित दर २६ दशमलव ९ प्रतिशत छ । यस्तै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको दर शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

सार्क राष्ट्रमध्ये सबैभन्दा बढी मृत्युदर अफगानिस्तानमा ३ दशमलव ७ प्रतिशत रहेको छ । यस्तै पाकिस्तानमा २ दशमलव १, बंगलादेशमा एक दशमलव ४, भारतमा एक दशमलव ७ प्रतिशत रहेको छ ।