
काठमाडौं, २० भदौ । विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल–चीन रेलमार्गको काम प्रभावित भएको छ ।
कोरोना भाइरसका कारण दुईदेशबीच आवश्कय छलफल र कुराकानीमा भएको विलम्बसँगै केरूङ र काठमाडौं जोड्ने रेलमार्गको काममा ढिलाइ भइरहेको बताइएको छ । उक्त रेलमार्गको अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काममा समस्या भइरहेको नेपाल रेलवे विभागका महानिर्देशक बलराम मिश्रको भनाइ छ ।
उनका अनुसार अघिल्लो साता अर्थ मन्त्रालयसँग बैठकमा चिनियाँ अधिकारीले कोभिड–१९ को प्रभाव कम हुने बित्तिकै चरणवद्ध रूपमा रेलमार्ग र अन्य महत्त्वपूर्ण परियोजनाका काम अघि बढाउने कुराकानी भएको छ । तर, कोरोना महामारीको बीचमा रेलमार्गबारे कुनै ठोस छलफल हुन नसकेकाले काम प्रभावित भएको उनको भनाइ छ ।
चीनले गरेको सम्भाव्यता अध्ययनले काठमाडौंदेखि केरूङसम्मको ७२ दशमलव २ किलोमिटर दूरीमा ९८ दशमलव ८ प्रतिशत सुरुङ तथा ठूला पुलहरू हुने उल्लेख छ । सन् २०१८ को उक्त अध्ययनले नेपालतर्फको निर्माणका लागि २९३ अर्ब रुपैयाँ अनुमान गरेको थियो ।
अधिकारीहरूका अनुसार नेपालतर्फको खण्डमा ९ वटा पुल र ७ वटा सुरुङ प्रस्ताव गरिएका छन् । जटिल भौगर्विक क्षेत्रमा बनाउने लक्ष्य राखिएको उक्त रेलवे पछि पोखरा र लुम्बिनीसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ ।















प्रतिक्रिया