१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमणबारे नागरिकमा प्रत्यक्ष जनचेतना फैलाउँदै स्वास्थ्य मन्त्रालय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण र यसबाट बच्ने उपायबारे नागरिक सतरमा प्रत्यक्ष जनचेतना फैलाउने अभियान शुरु गरेको छ ।

मन्त्रालयको नेतृत्वमा हिसान, स्काउट र पब्लिक हेल्थका व्यक्तिहरुको सहभागितामा यो अभियान शुरु भएको हो । शनिबारदेखि शुरु भएको यो अभियान विभिन्न १३ वटा क्लष्टरमा एक सातासम्म सञ्चालन हुने मन्त्रालयले बताएको छ ।

विभिन्न समुदायमा जनचेतनाको स्तर वृद्धि गर्न यो कार्यक्रमको अवधारणा ल्याइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार भीडभाड भइरहेका ठाउँ, मास्क नलगाउने तथा ठिक ढंगले मास्क प्रयोग नगर्नेहरुका बीचको यो कार्यक्रम केन्द्रित छ ।

कतिपय मास्क नलाउनेहरुलाई मास्क समेत वितरण गरिने उनले बताए ।

अभियान अन्तर्गत विभिन्न बसहरुमा चेतनामुलक ब्यानरहरु टाँगिएका छन् । ती प्रत्येक बसमा स्काउटका एकजना प्रतिनिधिरा बस्ने व्यवस्था मिलाइएको छ । उक्त बसहरु विभिन्न १० वटा रुटमा परिचालन गरिने डा. गौतमको भनाइ छ ।

ती बस कता–कता जाने भन्ने विषयमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले दिशानिर्देश गर्ने बताइएको छ । यस्तै यो अभियानबारे उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुलाई पनि जानकारी दिनाका साथै सहयोगका लागि अनुरोध समेत गरिएको छ ।

अभियान सञ्चालनका लागि विभिन्न ठाउँहरुलाई समेटेर कोटेश्वर, कालीमाटी, नयाँ बसपार्क, बल्खु, चावहिल, रत्नपार्क, मैतीदेवी, महाराजगञ्ज, पाटन, लगनखेल, ग्वार्को, सातदोबाटो र भक्तपुरका सबै नगरपालिकाहरुमा क्लष्टर तोकिएका छन् ।

पछिल्लो समय नेपालमा दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमलाई दृष्टिगत गरी मन्त्रालयले यो जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।