१ कार्तिक २०८३, शनिबार

ढोरपाटनका बाढीपहिरो पीडितलाई सहयोग गर्न देशभरका सहकारीलाई आह्वान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २० भदौ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ढोरपाटन नगरपालिकाको बाढीपहिरोबाट प्रभावितका लागि सहयोग गर्न देशभरका सहकारी संस्थाहरुलाई आह्वान गरेको छ ।

बाढीपहिरोका कारण ठूलो संख्यामा स्थानीय बासिन्दाहरु घरबारविहीन भएको अवस्थालाई दृष्टिगत गरी जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सहकारी संघ संस्थाहरुलगायत देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई सहयोगका लागि आह्वान गरेको हो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा शनिबार बिहान बसेको संघको बैठकले पहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

साथै घटनामा परी बेपत्ता भएकाहरुको खोजविन र राहत तथा पुनःस्थापनामा ध्यान दिन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएको संघका सचिव तेजेन्द्रबहादुर थापाले जानकारी दिए ।

बिपत्तिको समयमा सबै मिलेर पीडितहरुको पीडामा मल्हम लगाउने योजनाका साथ जिल्ला सहकारी संघले देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई संघको अभियानमा सहयोग गर्न आह्वान गरेको जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी (अञ्जु) जीसीले बताइन् ।

बागलुङवासीलाई परेको बिपत्तिमा देशभरका सहकारीहरुबाट ऐक्यवद्धता र सहयोगको अपेक्षासहित सहयोगका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखामा रहेको खाता नं. १४–०००३३–९ मा रकम जम्मा गर्न सकिने कोषाध्यक्ष जिसीले जानकारी दिइन् ।

भदौ १७ गते अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ का विभिन्न स्थानमा जनधनको क्षतिले जिल्ला सहकारी संघलाई स्तब्ध तुल्याएको संघले बताएको छ ।

पहिरोबाट ढोरपाटन नगरपालिकामा १५ जनाको ज्यान गएको र २३ जना बेपत्ता रहेका छन् । बाढीपहिरोले ८० घर पूर्णरुपमा र ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत्, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालयमा क्षति पु¥याएको छ ।