
काठमाडौं, १९ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।
राष्ट्रियसभामा खतिवडाको सट्टा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने पार्टी सचिवालयले निर्णयसँगै भोलि (भदौ २० गते) देखि स्वतः पदमुक्त हुन लागेका खतिवडाले शुक्रबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
यसअघि शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्री खतिवडाले साँझ राजीनामा दिने जानकारी गराएका थिए ।
पछिल्लो समय क्याविनेटमा प्रधानमन्त्री ओलीका ‘विश्वासपात्र’ को पहिचान बनाएका खतिवडालाई हटाउन प्रधानमन्त्री अनिच्छुक थिए । तर, पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न पनि खतिवडालाई हटाउन बाध्य भएका हुन् ।
सांसद नभएका व्यक्तिलाई पनि ६ महीनासम्म मन्त्री बनाउन मिल्ने संविधानमा भएको व्यवस्थालाई टेकेर राष्ट्रियसभा सदस्यको अवधि सकिए पनि ६ महीनाका लागि मन्त्रीमा कायम रहेका थिए ।
उनी गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिएपछि उनी ६ महीनाका लागि अर्थमन्त्रीमा दोहोरिएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय पार्टी सचिवालय बैठकले बिहीबार गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान बहुप्रतिक्षित क्याविनेटमा अर्थमन्त्रीका रुपमा प्रवेश गरेका खतिवडा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चारमन्त्री र सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका थिए ।
तर, पार्टीभित्रको सन्तुलन मिलाउन राजीनामा दिन बाध्य भएका खतिवडालाई प्रधानमन्त्री ओलीले आफ्नै वरिपरि राख्ने मनस्थिति बनाएका हुन् । पार्टीभित्रको विवाद साम्य भएपछि उनलाई थप जिम्मेवारी दिने विषयमा पनि ओलीले योजना बनाइरहेको स्रोतहरुको दाबी छ ।















प्रतिक्रिया