१ कार्तिक २०८३, शनिबार

कोरोना नियन्त्रण र जनजीवन सहज बनाउने स्पष्ट योजना सार्वजनिक गर्न माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेस कोभि–१९ अनुगमन समितिले कोरोना नियन्त्रण र कष्टकर बनिरहेको जनजीवन सहज बनाउने स्पष्ट योजना सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक–सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न पटक–पटक माग गर्दै आएको भए पनि सरकारले कुनै चासो नदेखाएको आरोप समेत सो समितिले लगाएको छ ।

कांग्रेसका सहमहामन्त्री समेत रहेका सो समितिका संयोजक डा. प्रकाश शरण महतले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको हो ।

‘सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर छैन’, विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकामा फेरि निषेधाज्ञा थपिएको छ, देशको विभिन्न भागहरुमा पनि निषेधाज्ञा लागू गरिएको छ । यस्ता लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेका छन् ।’

पर्याप्त तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढेको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिँदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन । कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने–नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ ।’

सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिको भन्दै समितिले सरकारको संवेदनहीनता र निष्क्रियताको निन्दा समेत गरेको छ ।