
काठमाडौं, १६ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप लम्बिने सम्भावना बढेको छ ।
जारी निषेधाका म्याद सकिन लागेपछि थप विकल्प र उपायहरुको ओजी गर्न भन्दै मंगलबार सीडीओहरु काठमाडौंका जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच दिनभरजसो भर्चुअल बैठक बस्यो । तर, बैठकले निषेधाज्ञाको विकल्पमा कुनै ठोस उपाय निकाल्न सकेन ।
यद्यपि, उनीहरुले निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने विषयमा भने गृह मन्त्रालयसँग छलफल गर्ने निर्णय गरेका छन् । भर्चुअल बैठकबाट तयार पारिएको साझा धारणालाई गृह मन्त्रालयसमक्ष पेश गरी छलफलबाट आवश्यक निर्णय बुधबार लिइने बताइएको छ ।
स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपछि सीडीओहरुले हालको अवस्थालाई कायम राख्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने दुई वटा विकल्प मन्त्रालयलाई पेश गर्न साझा धारणा तयार पारिएको भक्तपुरकी सीडीओ हुमकला पाण्डेले बताइन् ।
गृहसँगको छलफलपछि आफूहरुले पेश गरेको विकल्पका अलावा पनि निर्णय हुन सक्ने उनको भनाइ छ ।
उपत्यकाका तीन वटै जिल्लामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञाको समय बुधबार राती १२ बजेपछि अन्त्य हुँदैछ । तर, संक्रमण नियन्त्रणमा देखिने प्रभाव निषेधाज्ञाले नपारेपछि के उपाय अवलम्बन गर्ने भन्ने विषयमा ठोस विकल्प उनीहरुले फेला पार्न सकेका छैनन् ।
यसले उपत्यकामा अझै कम्तीमा एक साता निषेधाज्ञाको समय बढ्ने सम्भावनालाई बलियो बनाएको छ ।















प्रतिक्रिया