काठमाडौं, १५ भदौ । स्थानीय तहसम्मका प्रहरी इकाईहरूका भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने नीति अनुरुप नेपाल प्रहरीले पछिल्लो दुई वर्षमा १ हजार १ सय ७७ वटा नयाँ संरचना निर्माण सम्पन्न गरेको छ ।
नेपाल प्रहरीको नियमित बजेट, राष्ट्रिय पून: निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सा लगायत उक्त संख्यामा नयाँ संरचना निर्माण गरिएको हो ।
प्रहरी इकाईका भौतिक संरचनालाई समयसापेक्ष स्तरोन्नति/ नयाँ निर्माण गर्न प्रहरी प्रधान कार्यालयले कार्य योजना बनाई निर्माण कार्यलाई तिव्रता दिए बमोजिम पूर्वाधार बनाउने काम भइरहेको हो । सो बमोजिम पछिल्लो दुई आर्थिक वर्ष (आ.व. २०७५/०७६ र ०७६ /०७७) मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७ सय ५५ वटा शौचालय समेत अन्य संरचना गरी उक्त संख्यामा नयाँ संरचना बनिसकेको छ ।
नेपाल प्रहरी अन्तर्गतका हाल देशभर २ हजार ७ सय ५७ इकाईहरु रहेका छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाई स्थापना गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप २०७५ साल यता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म कूल २ सय ५१ नयाँ इकाई र सो अनुरुप दरबन्दी समेत निकासा भइसकेको छ ।
चालु आवमा नेपाल प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र ८ सय ८० वटा शौचालय समेत अन्य संरचना गरी १ हजार १ सय ४ वटा संरचना निर्माणाधिन रहेका छन् । यस्तै पून:निर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट ८ सय १० नयाँ पूर्वाधार निर्माणाधिन अवस्थामा छन् भने प्रादेशिक बजेटबाट चालु आवमा ३० वटा संरचना निर्माण सम्पन्न भइसकेका छन् ।
आव २०७४/०७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालय लगायत अन्य भवन गरी ९४ वटा नेपाल प्रहरीको नियमित बजेटबाट र पून:निर्माण कोषको बजेटबाट ३ सय ४६ वटा नयाँ संरचना निर्माण भएको थियो ।
नेपाल प्रहरीले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लोकेश सिंहले अहिले ६९ जिल्लामा नयाँ निर्माणकाे काम भइसकेको बताए ।
७२ जिल्ला प्रहरी कार्यालयमा हिरासत कक्ष, ब्यारेक र थनुवा कक्ष लगायतका सबै संरचना तयार भइसकेको सिंहले बताए ।











प्रतिक्रिया