गौर, १४ भदाै । रौतहटको गरुडा नगर २ सातायता अशान्त छ। आक्रोशित स्थानीयले दिनहुँ प्रहरीविरुद्ध प्रदर्शन गरिरहेका छन्। हिरासतमा रहेका १९ वर्षीय विजय राम चमारको मृत्यु प्रहरीको यातनाका कारण भएको भन्दै स्थानीय आन्दोलित बनेका हुन्। विजयका बुवा पनिलालले प्रहरीको कुटाइबाट छोराको मृत्यु भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
घटनाक्रमअनुसार गरुडा–८ जिगडियाका २० वर्षीय निरन्जन राम चमारको हत्या गरिएको अवस्थामा साउन ३२ गते शव भेटिएको थियो। त्यसको अनुसन्धानका क्रममा स्थानीय विजयलाई प्रहरीले भदौ १ गते पक्राउ गरेको थियो। विजय मात्रै होइन, उनीसहित ७ जना पक्राउ परेका थिए। विजयको भने उपचारका क्रममा गत बुधबार राति मृत्यु भएको थियो।
पक्राउ गर्ने समयमै पनि स्थानीयले विजय निर्दोष रहेको र प्रहरीले फसाउन खोजेको भन्दै विवाद गरेका थिए। स्थानीयबाट विरोध भए पनि इलाका प्रहरी गरुडाले नियन्त्रणमा लिई ८ दिनको म्याद थप गर्यो। पक्राउ परेको दिनदेखि नै उनीसँग भेट गर्न नदिएको परिवारजनको भनाइ छ। बिरामी भएर उपचारका लागि वीरगन्ज पठाएको जानकारी पाएपछि अस्पताल पुगेको उनीहरूको भनाइ छ।
पिसाबमा समस्या आएपछि उनलाई प्रहरीले गरुडास्थित अनमिका अस्पताल पुर्याएको थियो। त्यहाँका डाक्टरले अन्यत्र उपचार गर्न लैजान भनेपछि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा लगिएको थियो।
उपचारका बेला बोलेको उनको भिडियो र तस्बिर सार्वजनिक भएका छन्। उनको शरीरभर घाउचोट लागेको तस्बिर सामाजिक सञ्जालमा छाएका छन्। निरन्जनको हत्या स्वीकार नगरेको भन्दै हिरासतमा प्रहरीले रड, बाँसको भाटा र बुटले पिटेर यातना दिएको भिडियोसमेत सार्वजनिक भएको छ।
प्रहरीले भने विजयलाई यातना नदिइएको बताउँदै आएको छ। गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतोले मिर्गौलाको समस्याका कारण उनको मृत्यु भएको जानकारी अस्पतालले गराएको बताएका छन्। फणि महतले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया