१ कार्तिक २०८३, शनिबार

कारागारबाट भागेका २ सहित ४ जना फरार प्रतिवादी २० वर्षपछि पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १२ भदौ । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५ वर्षअघि कारागारबाट भागी फरार रहेका थिए । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका–६ का रोगही भन्ने ४५ वर्षीय करन राज थापा, जोशीपुर–३ का रोहीना भन्ने ४९ वर्षीय भगत चौधरी, जोशीपुर–४ का कालु भन्ने ३८ वर्षीय गुनसिंह कठरीया र भजनी नगरपालिका–६ का ४७ वर्षीय टिकाराम चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई आ–आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीले २० वर्षदेखि फरार रहेका दुई प्रतिवादीहरु गुन सिंहलाई ४ वटा डाँका चोरी मुद्दामा ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरीवाना तथा टिकाराम चौधरीलाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र ९ हजार ८४० रुपैयाँ जरीवाना सजाय ठहर गरेको थियो ।

यसैगरी करन राज थापालाई अदालतले विभिन्न मितिमा गरेको फैसलाले ८ वटा डाँका चोरी मुद्दामा ८७ वर्ष कैद र ४४ हजार १५३ रुपैयाँ जरीवाना र भगत चौधरीलाई एउटा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र ४ हजार ५०० रुपैयाँ जरीवाना तोकेको थियो ।

उनीहरु दुबै जना २०५७ फागुन ३० गते पक्राउ परी पुर्पक्षका लागि कारागार कार्यालय कैलाली गएकोमा २०६१ माघ २७ गते कारागारबाट भागी फरार भएका थिए ।