लण्डन, १२ भदाै । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेञ्च मिडफिल्डर पाउल पोग्बालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
फ्रान्सको राष्ट्रिय टिमका प्रशिक्षक डिडियर डेस्चाम्सका अनुसार पोग्बाको कोरोनाको टेस्ट गर्दा पोजेटिभ देखिएको हो। २७ वर्षीय मिडफिल्डर पोग्बा अब १४ दिनको सेल्फ आइसोलेसनमा बस्नेछन्।
अब उनले युइएफए नेसन्स कपअन्तर्गत दुई वटा खेल गुमाउनेछन्। ५ सेप्टेम्बर शनिबार स्विडेनविरुद्ध तथा ८ सेप्टेम्बरमा क्रोएसियाविरुद्ध हुने खेल उनले गुमाउने भएका हुन्।
पोग्बाले इंग्लिस प्रिमियर लिगको सुरुवाती खेल भने नगुमाउन सक्छन्। १९ सेप्टेम्बरमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्दा उनी मैदान उत्रन सक्नेछन् । इंग्लिस प्रिमियर लिगको सुरुवाती खेल खेल्न उनी कोरोनामुक्त भने हुन पर्नेछ ।
कोरोनाका कारण पोग्बाले राष्ट्रिय टिमको खेल गुमाउने भएपछि उनको स्थानमा १७ वर्षीय मिडफिल्डर इडुर्डो कमाभिग्नाले खेल्नेछन् । विश्वकप विजेता मिडफिल्डर पोग्बा युनाइटेडमा कीर्तिमानी ८९ मिलियन पाउन्डमा सन् २०१६ मा आबद्ध भएका थिए ।















प्रतिक्रिया