घटना १
काठमाडौं रानीबारीमा बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको २०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भयो। घटनामा श्रेष्ठ दम्पतीकी ७ वर्षकी छोरी भाग्यले बाँचिन्। अपराधीले कुनै सबुत नछोडेको उक्त घटनाले सनसनी मच्चायो। त्यो घटना सुल्झिसक्यो। तर, अनुसन्धान गर्ने प्रहरी र मुचुल्का तयार पार्दा घटनास्थलमा पुगेका स्थानीयवासीको आङ सिरिङ अझै हुन्छ। त्यो घटनाले काठमाडौं उपत्यका मात्रै होइन, मुलुककै तरंगित पारेको थियो। राजधानीजस्तो सुरक्षा पहुँच भएको ठाउँमा बीभत्स हत्या हुँदा त्रास फैलिनु स्वाभाविक थियो।
घटना २
पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेस्टमा २०५९ मै चक्रे मिलनलाई दीपक मनाङले खुकुरी प्रहार गरे। चक्रे छिन्नै लागेको हात बोकेर वीर अस्पताल पुगे। मनाङे २०६१ मा पक्राउ परे। दुई वर्ष पुर्पक्षमा जेल बसेर २०६२ मा छुटे। तत्कालीन एमालेमा प्रवेश गरेका उनी हाल सांसद छन्।
घटना ३
बाँके नेपालगन्जका दुई स्कुले बालक कपिल द्विवेदी र लीलाधर भट्टको २०६७ असोजमा अपहरणपछि हत्या भयो। त्यसको दुई वर्षपछि प्रहरीले रंगौं भनिने रिवजान साईलाई पक्राउ गर्यो। साईलगायतले द्विवेदी र भट्टको परिवारबाट फिरौतीबात १० लाख लिएका थिए। साईले तराई जनतान्त्रिक मधेस पार्टीका नाममा भारतको रूपडिहा बजारमा सहयोगी परिचालन गरी अपहरण र चन्दा असुली गर्दै आएका थिए। उनी चरेस कारोबारमा मुछिएर भारतमै तीन वर्ष जेलसमेत बसेका थिए। उनी पक्राउ परेपछि बाँकेमा अपहरणको संख्यामा कमी आएको थियो।
०००
यी घटना भिन्न स्थानमा भएका भिन्न प्रकृतिका घटना हुन्। २०५९ देखि हालसम्म हत्या, अपहरण, गुन्डागर्दी, बलात्कारलगायत गम्भीर प्रकृतिका अपराधमा कमी आएको छैन। बरु अपराधको स्वरूप फेरिएको जानकार बताउँछन्। आर्थिक एवं संगठित अपराध मौलाएको छ। आर्थिक अपराधमा पनि ठगी धेरै देखिन्छ। प्रहरीले २०६५ सालमा देशभर १ सय २१ वटा ठगीका घटनामा मुद्दा चलाएको थियो। त्यो संख्या २०७६ मा आइपुग्दा ६ सय ६८ पुगेको छ।
१२ वर्षयता अपराधको ग्राफ निकै बढेको देखिन्छ। २०६५ सालतिर देशभर प्रहरीले मुद्दा चलाएका कुल अपराध संख्या १४ हजार ४ सय १ थियो। २०७६÷७७ सम्म आइपुग्दा त्यो संख्या बढेर ४१ हजार ८ सय ९१ पुगेको छ। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत नेपाल प्रहरी उपलब्ध स्रोतसाधनकै भरमा अपराध अनुसन्धान र न्यूनीकरणमा सफल रहेको बताउँछन्। ‘हामीले कतिपय घटना ६ घण्टामै पनि पत्ता लगाएका छौं। कति घटना १२ वर्षपछि पनि पत्ता लगाएका छौं। रानीबारी हत्याकाण्ड १२ वर्षपछि पत्ता लाग्यो’, प्रवक्ता कडायत भन्छन्, ‘घटना यही बेला पत्ता लाग्छ भन्ने हुँदैन। त्यसमा लगाव र निरन्तरता उत्तिकै चाहिन्छ।’
उनका अनुसार अहिलेको चुनौती साइबर अपराध हो। ‘आत्महत्या र ठगी बढेको साँचो हो। आत्महत्या प्रहरीले चाहेर पनि रोक्न सक्दैन। कुन बेला कसैले थाहा नपाउने गरी व्यक्तिले आत्महत्या गर्छन्। अर्को ठगी’, उनी भन्छन्, ‘अहिले फेसबुक, इमो, भाइबरमार्फत ठगी भइरहेका छन्। ठगिने पीडितले पनि अन्तिममा आफू ठगिएको थाहा पाएपछि मात्रै प्रहरीमा उजुरी गर्छन्। त्यसबेलासम्म अपराधी उम्किन सक्छ। यसमा स्वयं चेतनशील हुनु जरुरी छ।’
प्रहरीको तथ्यांकअनुसार २०६५ सालको तुलनामा कर्तव्य ज्यान (मान्छे मार्ने) का घटना २०७६ सालमा कम देखिन्छ। २०६५ मा ८ सय ७५ वटा कर्तव्य ज्यानका घटना भएको प्रहरी अभिलेखले देखाउँछ। २०७६ मा भने ५ सय ५५ वटा घटना मात्र प्रहरीमा पुग्यो।
बलात्कारका घटना भने बढ्दो देखिन्छ। २०६५ सालमा ३ सय ९१ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भई मुद्दा चलेको देखिन्छ। त्यसपछि भने २०६६ मा ३ सय ७१, २०६७ मा ४ सय ८१, २०६८ मा ५ सय ५७, २०६९ मा ६ सय ७७, २०७० मा ९ सय ५, २०७१ मा ९ सय ८१, २०७२ मा १ हजार ९३ वटा प्रहरीमा पुगे। यस्तै, २०७३ मा १ हजार १ सय ३७, २०७४ मा १ हजार ४ सय ३८, २०७५ मा २ हजार २ सय ३० र २०७६ मा २ हजार १ सय ४४ वटा घटना भएको तथ्यांकले देखाउँछ।
डकैतीका घटना शून्य
१४ वटा डाँका घटना २०६५ सालमा प्रहरीमा पुगेको थियो। १२ वर्षपछि आएर डकैती घटना शून्यमा झरेको देखिन्छ। सूचना–प्रविधि प्रयोगमा वृद्धिसँगै मानिस सचेत रहेको र बस्ती बढेकाले पनि डकैतीका घटना न्यूनीकरण भएको प्रहरी अधिकारीको बुझाइ छ। २०६६ मा १८, २०६७ मा ५, २०६८ मा ८, २०६९ मा ७, २०७० मा ०, २०७१ मा २, २०७२ मा १, २०७३ मा १, २०७४ मा २ र २०७५ सालमा ० घटना प्रहरीमा दर्ता भएका छन्।
२०७० पछि संगठित अपराधमा मुद्दा
प्रहरी अभिलेखले २०७० सालपछि मात्रै संगठित अपराधमा मुद्दा चलाइएको देखिन्छ। प्रहरीले २०६५ देखि २०६९ सम्म यो मुद्दा चलाएको देखिँदैन। २०७० सालमा दुई वटा मात्रै मुद्दा चलाएको देखिन्छ। त्यसपछि २०७१ मा १, २०७२ मा ३, २०७३ मा १४, २०७४ मा १७, २०७५ मा १२ र २०७६ सालमा २६ वटा संगठित अपराधको मुद्दा दर्ता गरेको तथ्यांक छ।
आत्महत्या बढेको बढ्यै
गरिबी, अशिक्षा, बेरोजगारीलगायत कारणले आत्महत्याका घटना बढिरहेको देखिन्छ। २०६५ सालमा ३ हजार ६१ वटा आत्महत्याका घटना भएको प्रहरी अभिलेखमा छ। २०६६ सालमा ३ हजार ३ सय नौ, २०६७ मा ३ हजार ६ सय ९९, २०६८ मा ३ हजार ९ सय ७७, २०६९ मा ३ हजार ९ सय ७४, २०७० मा ४ हजार ५ सय ४, २०७१ मा ४ हजार ३ सय ३२, २०७२ मा ४ हजार ६ सय ८०, २०७३ मा ५ हजार १ सय २४, २०७४ मा ५ हजार ३ सय १७, २०७५ मा ५ हजार ७ सय ५४ र २०७६ सालमा ६ हजार २ सय ४१ वटा आत्महत्याको घटना भएका छन्। सुवास गाेतामेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।
















प्रतिक्रिया