३० आश्विन २०८३, शुक्रबार

तामाकोसी आयोजनामा दैनिक करोडौँको नोक्सान हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tamakoshi-upperचरिकोट, ४ चैत । सेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुरको हडताल र सिंगटीवासीको थप मागका कारण छदिन आयोजनाको काम ठप्प छ र यसले आयोजनालाई दैनिक करोडौँ घाटा पारिरहेको छ ।

चार सय ५६ मेगावाट क्षमताको यस आयोजनामा कार्यरत मजदुरले ५०० कित्ता र सिंगटीवासीले विशेष सेयरको माग दाबी गर्दै शुुक्रबारदेखि आयोजनाको काममा अवरोध गर्दै आएका छन् ।

उनीहरुले हडताल गर्दा लागत, समय र ठेकेदारलाई काम रोकिएबापत हुने क्षतिपूर्तिलगायतमा भुक्तानी दिनुपर्ने कारण दैनिकजसो करिब रु तीन करोड रकम घाटा बेहोर्नपरेको आयोजनाले जनाएको छ ।

सबै पक्षले जस्तै सेयर पाउनुपर्ने मागसहित बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आयोजनाको काम छ दिनदेखि ठप्प पारेका हुन् ।

हडतालमा गोंगरस्थित भूमिगत विद्युत् गृहमा काम गर्ने सिनो हाइड्रो ब्युरो–६ का २५० जना सामेल छन् । त्यस्तै, लामाबगरस्थित पेनस्टक, ड्याम र सुरुङ मार्गमा काम गर्ने ब्युरो–११ मा कार्यरत करिब ६०० मजदुर काम छाडेर हडतालमा छन् ।

उनीहरूले इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलका कामसमेत अवरोध गरेका छन् । सिंगटीमा समेत स्थानीय जनताले अतिरिक्त सेयर दाबी गर्दै दोस्रोपटक छ दिनदेखि आन्दोलन जारी राखेका छन् ।

उनीहरूले आयोजना र आयोजनाका सामान बोकेका ढुवानीका साधन चल्न दिएका छैनन् । सिनो हाइड्रो कम्पनीमा आबद्ध नेपाली मजदुरले विद्युत् आपूर्ति र सञ्चारमा काम गर्नेबाहेक चिनियाँ मजदुरलाई पनि काम गर्न दिएका छैनन् ।

आयोजनाको स्वामित्व रहेको माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रबन्धपत्रमा मजदुरका लागि सेयरको व्यवस्था गरिएको छैन । लगानीकर्ता कम्पनीका कर्मचारी, सञ्चय कोषका सञ्चयकर्ता, विद्युत् प्रधिकरणका कर्मचारी, दोलखा जिल्लावासी र सर्वसाधारणका लागि मात्र सेयरको व्यवस्था गरिएको छ । मजदुरले सेयर माग गरे पनि पूरा गर्न नसकिने अवस्था रहेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठद्वारा हस्ताक्षरित एक अपिलपत्र जारी गरी राष्ट्रिय गौरवको आयोजनामा अवरोध नपु¥याउन तथा निर्माण कार्य जारी राख्न आग्रह गरेका छन् । सरकारले राष्ट्रिय गौरवको सूचीमा राखेका आयोजनामध्ये राम्रो प्रगति भइरहेको माथिल्लो तामाकोसीमा स्थानीय जनता र मजदुरले लामो समयसम्म लगातार हडताल गरेको यो पहिलोपटक हो ।

यी आन्दोलनका कारण आयोजनाले चैत १ गतेदेखि स्थानीय जनताका लागि जारी गर्ने भनिएको १० प्रतिशत सेयरसमेत निष्काशन गर्न सकेको छैन । रासस